पूर्व राष्ट्रपति भण्डारी र चीनका गान्सु प्रान्तका गभर्नर रेन बीच भेटवार्ता

काठमाडौँ- चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चीनको गान्सु प्रान्तस्थित डुनहाउङमा गान्सु प्रान्तको कम्युनिष्ट पार्टी कमिटीका डेपुटी सेक्रेटरी तथा गभर्नर रेन जेन्हे नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गर्‍यो ।

त्यसबखत पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी ले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमण र सोही वर्ष राष्ट्रपतिको हैँसियतमा आफूले गरेको चीन भ्रमणमा भएका समझदारीहरुको स्मरण गर्दै विगतका सहमती कार्यान्वयनमा मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यसैगरी, गान्सु प्रदेश र नेपालबीच थप सहकार्य गर्न सकिने क्षेत्रहरुबारे पनि छलफल भयो ।

यसैगरी पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको उच्चस्तरीय प्रतिनीधिमण्डलमा रहनुभएका उद्योग बाणिज्य तथा आपूर्ति दामोदर भण्डारी लगायतसँग गान्सुका स्थानीय उद्योगी व्यवसायीले छलफल गर्नुभयो ।

उहाँहरुबीच शिक्षा, स्वास्थ्य, पर्यटन, प्रविधि, कृषि जस्ता क्षेत्रमा लगानी प्रबर्द्धनका साथै ब्यापार घाटा घटाउने लगायतका विषयमा छलफल भयो ।

यसअघि पूर्व राष्ट्रपति भण्डारीले आजै डुनहाउङको मिङशा पर्वतमा अवस्थित मोगाओ ग्रोट्टसको अवलोकन गर्नुभयो ।

प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल सिल्क रोडको महत्वपूर्ण विश्राम विन्दुका रुपमा रहेको डुनहाउङ विविध सभ्यताको संगम भएको ऐतिहासिक स्थल हो ।

विविध संस्कृतिको विरासत बोकेको मोगाओलाई विश्वकै चम्किलो गहनाका रुपमा लिइन्छ ।

बौद्ध कलाको संरक्षणमा विश्वकै उत्कृष्ट स्थलका रुपमा रहेको मोगाओ ग्रोट्टसमा ऐतिहासिक महत्वका गुफाहरु पनि रहेका छन् ।

भ्रमणका क्रममा पूर्व राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्वका सांस्कृतिक धरोहरबारे जानकारी लिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.