बीआरआइले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित गर्छ: पूर्व राट्रपति

 

काठमाडौँ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरूबिच समझदारी बढाउनु अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।

चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरूबिचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य बक्ताकारुपमा सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले विभिन्न  संस्कृतिहरूको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र सांस्कृतिक सङ्गमको सहअस्तित्व रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक, सुरक्षात्मक, आर्थिक, वैचारिक, जातीय र सांस्कृतिक कारणहरू बोकेको विभिन्न प्रकारका द्वन्दहरुले संसारलाई ग्रसित बनाएको विश्व सन्दर्भमा आयोजित संवाद महत्त्वपूर्ण रहेको बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले सबै संस्कृतिहरू एक अर्काको संस्कृति र मर्यादालाई सम्मान गर्दै बाँच्न सकुन् भन्ने प्रयास गर्नुपर्छ भन्नु हुँदै सांस्कृतिक कारणले उत्पन्न हुने द्वन्द्व र तनावबाट मुक्त हुन सकियोस् भन्नुभयो ।

द्वन्द्वका अन्य रूपहरू पनि हुने बताउँदै उहाँले राज्य र समाजले सम्बन्धित समाजका सांस्कृतिक र सभ्यतागत पक्षहरूलाई ध्यानमा राखेर द्वन्द्वहरूको समाधान खोज्नु पर्ने उल्लेख गर्नुभयो । चिनियाँ अन्तर्राष्ट्रिय समझदारी सङ्घ तथा गान्सु प्रान्त जन सरकारद्वारा संयुक्तरुपमा आयोजित रेसम मार्गको मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता पहल कार्यान्वयनलाई गति प्रदान गर्न सहकार्य जुटाउन आयोजित चौथो संवादलाई सम्बोधन गर्ने क्रममा पूर्व राष्ट्रपति भण्डारीले उत्तर दक्षिण रेसम मार्ग (सिल्क रोड) शाखाहरूको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरू सम्बन्धी संवाद आयोजनाका लागि उत्तम स्थल रहेको उल्लेख गर्नुभयो ।

उहाँले चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआइ) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताउनुभयो ।

एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु बीआरआइ पहलको मुख्य लक्ष्य भएको पनि उल्लेख गर्नुभयो । बीआरआइले सहभागी देशहरूबिच पारस्परिक समझदारी र सहयोगलाई बढवा दिने बताउँदै  सिल्क रोड आदान प्रदानमा नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारत बिचको सांस्कृतिक तथा व्यापारिक माध्यामकोरुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सैद्धान्तिक सहमति बमोजिम दुवै राष्ट्रले सन् २०१७ मा फ्रेम वर्क सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल ओपचारिकरुपमा बीआरआइमा आबद्ध भएको बताउँदै सन् २०२४ मा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणमा पुन:बीआरआइ सहयोग फ्रेम वर्कमा हस्ताक्षर गरिएको उल्लेख गर्नुभयो ।

बीआरआइ अन्तर्गत हिमालय सीमा पार बहु-आयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवं साझा भविष्यको प्रमुख अंगकोरुपमा रहेको भन्दै पूर्व राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी ले भन्नुभए जस्तै नेपाल र चीनबीचको समझदारीले भूपरिवेष्ठित राष्ट्र नेपाललाई भू जडित राष्ट्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र नेपाल चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा पूर्व राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सी को ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरू विकास र समृद्धिका लागि नेपाल -चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएको बताउनुभयो ।

त्यसै गरी सन् २०१९ मै आफूले गरेको चीन भ्रमणका बखत दोस्रो बेल्ट एन्ड रोड फोरमलाई सम्बोधन गरेको पनि उहाँले स्मरण गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले विश्वका प्राचीन सभ्यताहरूमध्ये एक चीनले गरेको विश्व सभ्यता पहलले मानव सभ्यताहरूलाई एकीकृत गर्ने विभिन्न संस्कृति र सभ्यताहरूबिच उन्नत समझदारी निर्माण गर्ने आपसी सम्मान शान्तिपूर्ण सहअस्तित्व र सहयोग प्रवर्द्धन गर्ने बताउनुभयो ।

उहाँले संस्कृतिहरूको सम्मान गर्नु भनेको खुलापन र साझेदारीको लागि बाटो सिर्जना गर्नु र फरक सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूले सामना गर्ने कठिनाइहरूको महसुस गर्नु पनि हो भन्दै मानव जातीको उल्लेख्य हिस्सा भयावह गरिबिको चक्रबाट बाहिर निस्कन सङ्घर्ष गरिरहेको अवस्थामा आयोजित संवाद कार्यले कठिनाइबाट विश्व समुदायलाई सहज वातावरण निर्माण हुने बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट संवाद आयोजक र सहभागीहरूलाई बधाई र शुभकामना पनि व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.