पूर्वराष्ट्रपति भण्डारी उच्च राजनीतिक भेटवार्तामा व्यस्त

काठमाडौँ- चीन भ्रमणमा रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको तेह्रौ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानबीच भेटवार्ता भएको छ ।

उहाँहरु बीच शुक्रबार साँझ गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको हो । भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले नेपालको विकास एवम् नेपाली जनताको सुख र शान्तिको पक्षमा चीनले बिनाशर्त सहयोग गर्दै आएकोमा धन्यवाद दिनु भयो ।

पूर्व राष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारीहरु विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढाउन दुवै पक्ष क्रियाशल हुनुपर्ने पनि उल्लेख गर्नुभयो ।

यसैगरी विभिन्न कारणले नेपालमा सरकार अस्थिर हुने गरेपनि जनस्तरमा सम्बन्धलाई बलियो बनाउन सके दुइदेशबीचको नीति र सम्बन्धमा स्थायित्व हुनसक्ने धारणा राख्नु भयो ।

बुद्धको जन्मभूमि नेपाल र बुद्धका अनुयायी रहेका चीनबीचको सम्बन्धका अनेक आयाम रहेको भन्दै उहाँले बहुआयामिक सम्बन्ध र सहकार्यले  एसियाली सभ्यताको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानले भण्डारी नेपालको राष्ट्रपति हुनुहुँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमण र त्यसवखत सम्पन्न समझदारीले दुइदेशको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो ।

उहाँले आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन मिलेर काम गर्नुपर्ने बताउदै चीनले कुनै स्वार्थ नराखी नेपाल सरकार र नेपाली जनताको चाहना बमोजिम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जी ले सिल्क रोड परियोजना मार्फत चीन र नेपालका साथै उत्तर पश्चिम एशियालाई मध्यपूर्वसम्म जोड्न सकिने पनि बताउनु भयो ।

अध्यक्ष जी बिङस्वानले स्थिर सरकार र राष्ट्रिय  एकताबाटै समृद्धि हासिल गर्दै चुनौतीको सामना गर्न सकिनेमा चीन सधै विश्वस्त रहेको उल्लेख गर्नुभयो । तर कुनै पनि देशको प्रणाली र सरकार कस्तो छान्ने भन्ने निर्णय गर्ने अधिकार त्यहाँका जनताकै हुनेमा आफूहरु स्पष्ट रहेको समेत उहाँले बताउनु भयो । भेटमा पूर्व राष्ट्रपतिभण्डारी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरुका साथै चिनियाँ उच्च अधिकारीहरु सहभागी हुनु हुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.