सप्तकोशीमा दुर्लभ डल्फिनको गणना सुरु, संख्यामा बृद्धिको आशा

सुनसरी- सप्तकोशी नदीमा पाइने गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना यस वर्ष पनि सुरु गरिएको छ । सन् २०२२ देखि नियमित रूपमा हुँदै आएको गणना कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा जारी छ ।

चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन नेपालमा दुर्लभ मानिन्छन् र संरक्षणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छन् ।

आरक्षका अनुसार गंगासागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिनहरू सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । यस वर्षको गणना राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्था लगायतको प्राविधिक सहकार्यमा भइरहेको छ । गणनामा केभी र द रुफोर्ड फाउण्डेशनले पनि सहकार्य गरेका छन् ।

चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । २०१२ मा ११ वटा र २०१७ मा १७ वटा डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई प्राथमिकता दिइएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षका तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समान रूपमा १९ वटा डल्फिन गणना गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक विरेन्द्र गौतमले चोरी सिकारी नियन्त्रणमा आएको र जनचेतना बढेकाले यस वर्ष डल्फिनको संख्या अझै बढ्न सक्ने अनुमान व्यक्त गर्नुभयो ।

धार्मिक आस्थासँग जोडिएको डल्फिनको संरक्षण

डल्फिन केवल जल पारिस्थितिक तन्त्रकै सूचक मात्र होइन, स्थानीय माझी समुदायको धार्मिक आस्थासँग पनि गहिरो रूपमा जोडिएको प्राणी हो । माझी मल्हा संजालका अध्यक्ष गुलाबी मुखियाका अनुसार डल्फिनलाई माझी समुदायकालागि कुलदेवताको रूपमा पुजिँदै आएको छ ।

वर्षेनी कात्तिक-मंसिरमा नदी पूजा र डल्फिनको विशेष पूजा गर्ने परम्परा अझै जीवित छ । तर अवैध सिकारले डल्फिन मात्र होइन, समुदायको धार्मिक विश्वासमा पनि चोट पुगेको अध्यक्ष मुखियाको गुनासो छ ।

गंगेटिक डल्फिनको संकट र नेपालमा चुनौती

नेपाल, भारत र बङ्गलादेशमा मात्र पाइने गंगेटिक डल्फिनको संख्या पछिल्ला वर्षहरूमा झन्डै ५० प्रतिशतले घटेको छ । हाल यसको विश्वव्यापी संख्या करिब ३ हजारको हाराहारीमा रहेको अनुमान छ ।

नेपालमा सन् २०११ को अध्ययनले करिब १०० वटा डल्फिन भएको अनुमान गरे पनि, २०१८ को देशव्यापी गणनाले जम्मा ५२ वटा मात्र डल्फिन भेटिएका थिए । तीमध्ये ४३ वटा कर्णाली मोहना क्षेत्रमा र ९ वटा कोशीमा थिए ।

डल्फिन नेपालको कोशी, कर्णाली र नारायणी नदी क्षेत्रमा पाइन्छन् । कहिलेकाहीँ महाकालीमा पनि देखिएको भए तापनि हाल त्यहाँबाट लोप भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको “डल्फिन व्यवस्थापन कार्ययोजना २०२१–२०२५” अनुसार डल्फिन पानीको शुद्धताको सूचक हुन् । तिनीहरूको आहार स–साना माछा हुन् भने फागुनदेखि वैशाखसम्म प्रजनन् काल हुन्छ ।

डल्फिनले ८–९ महिनाको गर्भधारणपछि बच्चा जन्माउने र बच्चाले दुई महिनापछि आहार लिन थाल्ने जैविक चक्र रहेको छ ।

संरक्षणमा चुनौती, बाँध र प्रदूषण

जल स्रोतको अति दोहन, नदी प्रदूषण, तथा नेपाल–भारत सिमानामा निर्माण गरिएका ठूला ड्याम र ब्यारेज डल्फिनको आवतजावतमा प्रमुख बाधक बनिरहेका छन् । ब्यारेज खुलेका बेला नेपालबाट भारत गएको डल्फिन फर्कन नसक्ने समस्याले संरक्षणमा थप चुनौती थपेको संरक्षणकर्मीहरू बताउँछन् ।

तर पछिल्ला वर्षहरूमा सप्तकोशी नदीमा डल्फिनको स्थिर तथा बढ्दो संख्या संरक्षणको हिसाबले सकारात्मक संकेत भएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादव बताउँनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.