भक्तपुर-नगरकोट सडक स्तरोन्नति सुरू

भक्तपुर- प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित भक्तपुर-नगरकोट जाने मुख्य सडक मार्ग पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ ।
नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सडक स्तरोन्नति कार्य सुरु गरेको हो ।
सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्म १५ किलोमिटर सडकखण्ड स्तरोन्नति आफ्नै आन्तरिक स्रोतबाट गर्नेगरी बोलपत्र आह्वान गर्दै रु १७ करोडमा ठेक्का सम्झौतामा पुनर्निर्माण सुरु गरेको नगरपालिकाले जनाएको छ ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्नेगरी रु २७ करोडमा ठेक्का सम्झौता गरेका थिए ।
सम्झौता गरेको ११ वर्षमा १०औँ पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड रुपैयाँ पुर्याउँदा पनि विभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
“चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्र नभई सिङ्गो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हुँदैन । मैले जनतासँग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पूरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता गरी अब आसप्लान्ट पिच गर्न बेस बिछ्याउने काम सुरु गरेका हौँ” नगरप्रमुख खत्रीले भन्नुभयो ।
केन्द्रीय सरकारले यो सडक पुनः स्तरोन्नति गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्नै लामो समय लाग्ने मन्त्रालयले जनाएपछि नगरपालिका आफैँले कालोपत्र गर्न लागेको हो ।
शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले लेबल मिलाएर ग्राबेल हाल्दै बेस मिलाउने काम सुरु भइसकेको र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने उहाँको भनाइ छ ।
त्यसैगरी बागमती प्रदेश सरकारको ५९ करोड रुपैयाँको लागतमा भक्तपुर नगरपालिकाको डेकाचादेखि चाँगुनारायण हुँदै काठमाडौंको साँखु नौ किलोमिटर सडक कालोपत्र कार्य पनि सुरु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्