भारतको सहयोगमा साँफेबगरमा निर्मित विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।
शनिवार आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति, अछामका प्रमुख जिल्ला अधिकारी ललितबहादुर कुँवर, मेयर राजेन्द्रबहादुर कुँवर र भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा विद्यालय व्यवस्थापनलाई भवन हस्तान्तरण गर्नुभएको हो।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड २४ लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण भएको हो।
विद्यालय भवनमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा, शौचालय रहेका छन्।
त्यस्तै अनुदान सहयोग फर्निचर र कम्प्युटर खरिदमा पनि उपयोग गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अगाडि बढाइएको र जिल्ला समन्वय समिति अछाममार्फत कार्यान्वयन गरिएको थियो।
सन् १९६० मा माध्यमिक विद्यालयका रूपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् जसमा ६५प्रतिशत छात्राहरू रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरुले नयाँ पूर्वाधारले अछामस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले समग्र सिकाइ वातावरणलाई सुदृढ बनाउनुका साथै यस क्षेत्रको शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अगाडि बढाएको र ४९४ परियोजनाहरू सम्पन्न गरिसकेको दूतावासले जनाएको छ।यी मध्ये अछामस्थित श्री महेन्द्र माध्यमिक विद्यालय सहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ । यी मध्ये अछाममा ६ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्