परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन

काठमाडौँ – नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद् अन्तर्गतको ‘परम्परागत सीपमा आधारित युवा सञ्जाल’ को अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ ।
शुक्रवार सानोठिमीस्थित राष्ट्रिय युवा परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो ।
नयाँ कार्य समितिमा अध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास, सह कोषाध्यक्षमा विक्रम लकान्द्री सहित १६ जना सदस्यमा छनौट भएका छन् । सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्र धर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वती भट्टराई छनौट भएका छन् ।
युवा सञ्जालमा छनौट हुने सबैलाई शुभकामना दिँदै राष्ट्रिय युवा परिषद्मा उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायमा संलग्न सबैलाई एकजुट भएर आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित गर्नुभयो । देशभरिका युवालाई उद्धमशिलतामा लाग्दै संवृद्धि र देश विकासमा लाग्न आव्हान गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँग पहुँच पुर्याउन गर्नु भएको सहकार्यप्रति आभार व्यक्त गर्दै युवा परिषद्का उपाध्यक्ष बस्नेतलाई आभार व्यक्त गर्नुभयो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढङ्गबाट अगाडी बढाई रहनुभएको छ । उहाँले बिगत ७ वर्ष देखी सञ्चालन गरिरहेको बागबजारस्थित सुट माला आधुनिक, वातावरणमैत्री र नवीनतम सोच बोकेको ब्रान्ड हो ।
कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशीलताको एक स्कुलका रूपमा स्थापित गर्न चाहन्छन् । उहाँको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई अगाडी सारेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्