वडा र टोलका समस्या र विकासबारे जनप्रतिनिधिलाई बालबालिकाको प्रश्न

भक्तपुर – भक्तपुरका बालबालिकाले आफ्नो टोल बस्तीको विकास निर्माण, खानेपानी, बालअधिकारका समस्या चुुनौती र आगामी योजनाका बारेमा जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् ।
सूर्य विनायक नगरपालिकाको आयोजना र बाल सञ्जालको समन्वयमा भएको अन्तरक्रियामा बालबालिकाले विभिन्न प्रश्न गरेका हुन । बालबालिकाहरूले आफ्नो वडा र टोलमा भएका समस्या, आफूले भोगेका घटना, नगरपालिकासँग अपेक्षा र बालबालिकाको क्षेत्रमा नगरपालिका र वडाले गर्नुपर्ने कामका विषयमा जिज्ञासा राखे ।
कार्यक्रममा नगरका १० वटै वडाका गरी १ सय ५५ जना बालबालिकाको सहभागिता रहेको थियो । बालबालिकाको जिज्ञासा मेटाउँदै नगरपालिका उपप्रमुख तथा स्थानीय बाल अधिकार समिति संयोजक सरिता तिम्सिना भट्टराईले समग्र नगरपालिका, विकास समितिका संयोजक, नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडाध्यक्षहरूले उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरूले पनि उठेका विभिन्न विषयमा थप प्रस्ट पार्नु भएको थियो । सो अवसरमा स्थानीय बाल अधिकार समिति संयोजकले नगरपालिकाले आगामी वर्ष २०८३ जेठ मसान्तसम्म नगरपालिकालाई बालमैत्री नगर निर्माण गरिसक्ने उद्देश्य लिएर तयारीअनुरूप बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
बालबालिकाले उठाएको सवाललाई सुझावको रूपमा ग्रहण गर्ने भन्दै नगरपालिकाले बालबालिकाको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्दै आएको जिकिर गर्नुभयो ।
प्रत्येक वडामा बाल उद्यान निर्माण गर्ने, नगरपालिकाको कार्यालयमा पुस्तकालय निर्माण गर्ने र बालमैत्री कक्ष बनाउने गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने नगरपालिकाले जनाएको छ ।
बाल सञ्जाल सूर्य विनायक अध्यक्ष सिम्रन सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शर्मिला दाहाल, दिनेश विशुंन्के लगायतले बालबालिकाको पक्षमा भक्तपुर जिल्लाले गहन अध्ययन गरेर सहजीकरण गर्नु सुझाउनु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्