शान्ति शिक्षाको रङ्गिन उत्सव

काठमाडौँ – शैक्षिक, सांस्कृतिक र सामाजिक मूल्यहरूलाई जोड्दै शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ कैलालीको धनगढीस्थित गुरुकुल एकेडेमीमा विशेष शान्ति दिवस कार्यक्रम सम्पन्न भएको छ । दक्षिण कोरियाको अन्तर्राष्ट्रिय शान्ति संस्था (Heavenly Culture, World Peace, Restoration of Light – HWPL) सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका जम्मा १,०५० विद्यार्थीहरूको सहभागिता थियो ।
विद्यार्थीहरूलाई व्यक्तिगत, सामाजिक र विश्व सन्दर्भमा शान्तिको महत्त्व बुझाउने र उनीहरूलाई शान्तिमय व्यवहारका लागि उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विविध धार्मिक तथा सामाजिक पृष्ठभूमिका व्यक्तिहरूसँगको संवाद मार्फत सह अस्तित्व र सम्मानको भावना विकास गर्ने प्रयास गरिएको आयोजकले जानकारी दिएका छन् । यसका साथै, सांस्कृतिक आदान प्रदान मार्फत नेपाल र दक्षिण कोरियाबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने प्रयास पनि गरिएको हो । कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई वर्ग अनुसारको विविध रचनात्मक र सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको थियो । कक्षा अनुसार कोमल वाद्य संगीत सहितको ध्यान, सुतिरहेकाहरूलाई उठाउने उद्देश्य सहित सामाजिक चेतना,
“Voice of the Heart” शीर्षकमा लेखन र कलाका माध्यमबाट मनको आवाज प्रस्तुतिका साथै स्थानीय धार्मिक स्थलहरूको भ्रमण गराइएको थियो । यसै गरी “Peace begins with me” भन्ने विषयमा हस्त छाप कला, सफाइ अभियान, सांस्कृतिक विनिमय मार्फत नेपाल र दक्षिण कोरियाबिचको मित्रता र आपसी सम्मान प्रवर्द्धन र दिगो शान्तिमा बाधा पुर्याउने सामाजिक समस्या शीर्षकमा पोस्टर प्रतियोगिता लगायत गतिविधिबाट सामाजिक समस्याको विश्लेषण र अभिव्यक्ति गर्न प्रोत्साहित गरिएको थियो । HWPL सँगको सहकार्य अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै गुरुकुल एकेडेमीले कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र समाज प्रति उत्तरदायित्वको भावना विकास गर्न सघाएको जनाएको छ । गुरुकुल एकेडेमी र HWPL ले रचनात्मक कार्यक्रमहरूबाट भविष्यमा पनि युवाहरूमा शान्तिको चेतना फैलाउने प्रतिबद्धताका व्यक्त गरेका छन् ।।










प्रतिक्रिया राख्नुहोस्