पार्बती कुण्डको सफाइ – फोटो फिचर

रसुवा-  डिभिजन बन कार्यालय रसुवाले रसुवाको आमाछोदिङमो गाउँपालिका तीनमा रहेको  पार्बती कुण्डको सफाइ गरेको छ ।
बोझो नामक जडीबुटीले पार्वती कुण्डको आकार घटेको र अस्तित्व सङ्कटमा परेको भन्दै डिभिजन बन कार्यालयले सरसफाइ अभियानलाई यस वर्ष पनि निरन्तर दिएको हो ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुण्डको स्वरूप बोझोले ढाक्न थालेपछि संरक्षणको लागि स्थानीय, नेपाली सेना र वनकर्मीहरूको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत कुण्डमा फैलिएको बोझो हटाउने, माटो र बालुवा फाल्ने, वरपरको झाडी सफा गर्ने कार्य भइरहेको छ ।
डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार यस ठाउँको तामाङ परम्परागत अनुसार पूजापाठ गरी सरसफाइ अभियानको शुभारम्भ गरिएको हो ।
सरसफाइ  अभियानमा नेपाली सेनाको श्री श्रीनाथ गण अन्तर्गत मानचेत ब्यारेक, बोङ्जोमाने र ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, थाम्बुचेत सब डिभिजनका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको छ । करिब दुई हजार छ सय मिटरको उचाइमा रहेको पार्वती कुण्डमा १०८ वटा धाराहरू निमार्ण गरी सकिएको छ भने यस क्षेत्रबाट पाल्दो पिक, गणेश हिमाल, साङजेन हिमाल, समथर घाँसे मैदान, सोम दाङ उपत्यका तथा जागेश्वर कुण्ड जस्ता स्थलहरूमा पदयात्रा गर्न सकिने भएकाले यसले आन्तरिक र बाह्य पर्यटकको सम्भावनालाई समेत सहयोग पुगेको आमाछोदिङमो गाउँपालिकाका उपप्रमुख चण्डिका तामाङ ले बताउनुभयो  ।
स्थानीयहरूको विश्वास छ — यो अभियानले धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको संरक्षण गर्दै भविष्यका पुस्तालाई जीवन्त धरोहर हस्तान्तरण गर्न मद्दत पुर्‍याउनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.