विद्युत् मिटर नहुँदा लिफ्ट खानेपानी योजना अलपत्र

 दाङ –  दाङको बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा विद्युत् मिटर जडान नहुँदा चार वर्षदेखि लिफ्ट खानेपानी योजना अलपत्र परेको छ ।

सुन्दर बस्ती खानेपानी योजना स्किम नं= २ अन्तर्गत २०७९ सालमै मुहानमा ट्याङ्की निर्माण भई घर–घरमा पाइपलाइन विस्तार गर्ने काम सकिएको थियो । तर विद्युत् मिटर हालसम्म पनि जडान नहुँदा बस्तीभन्दा मुनी भएको पानीको मुहानबाट लिफ्ट प्रविधिबाट पानीलाई माथिल्लो ट्याङ्कीमा पुर्‍याउन नसकिएको हो ।

खानेपानी योजना सञ्चालन नहुँदा स्थानीयलाई खोलामा अस्थायी धारा बनाएर पानी खानुपर्ने बाध्यता रहेको स्थानीय दिलबहादुर सुनाले गुनासो गर्नुभयो ।

खानेपानी योजना सञ्चालन नहुँदा जबरकोटका स्थानीयसँगै सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई समेत समस्या हुने गरेको छ । यता खानेपानी निर्माण समितिका अध्यक्ष डोमबहादुर खत्रीले भने बजेट अभावका कारण योजना सञ्चालनमा ढिलाइ भएको बताउनुभयो ।

खानेपानी योजनाअन्तर्गत स्किम नं. १ र २ गरेर दुई वटा खानेपानीको काम भइरहेको र एक सञ्चालनमा आए पनि विद्युत् मिटर जडान गर्नुपर्ने भएका कारण स्किम नम्बर २ भने ढिलाइ भएको अध्यक्ष खत्रीको भनाई छ ।

अध्यक्ष खत्रीका अनुसार सुन्दर बस्ती खानेपानी योजनाअन्तर्गत प्रदेश सरकारको करिब एक करोडको लागतमा खानेपानी योजना निर्माण भएको हो । खानेपानी योजना समयमै सञ्चालन हुन नसक्दा जबरकोटका ७० घरधुरीले सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.