अत्यावश्यक सेवा रोक्न नपाइने नियमविरुद्ध सहमतिपछि पनि यातायात व्यवसायीको हडताल कायमै
सरकारसँग छ बुँदे सहमति गरेर पनि यातायात हड्ताल नरोक्दा यात्रुहरुलाई सास्ती

काठमाडौँ- यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर पनि यातायात हड्ताल नरोक्दा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् । आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् । सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् ।
कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन्भने काठमाडौँ उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताउनुभयो । उहाँले चालकहरुको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उहाँले बताउनुभयो ।
यातायात व्यवसायीले सबै विषयमा सहमति जनाएर पनि सहमतिको पूर्ण कार्यान्वयन नभएसम्म आन्दोलन स्थगित नगर्ने अडान कायम राखेका कारण आज पनि देशभर यातायातका साधन सञ्चालन नभएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले गण्डकी प्रदेश सरकारबाट निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको उक्त बुँदा हटाएको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताउनुभयो ।
यसैबीच सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड सेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ । उनीहरुले चर्काे भाडा असुलेको गुनासो आइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्