आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर- कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताउनुभयो ।

उहाँका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ ।

“यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ”, नगरप्रमुख चौधरीले भन्नुभयो, “यसको महत्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरा एक दिन बिदा दिने गरेका छौँ ।”

नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताउनुभयो । “रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्नेगर्छ”, उहाँले भन्नुभयो, “नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाख बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन् ।”

वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताउनुभयो ।

मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.