फौजी किराले किसान मारमा

धनकुटा- अमेरिकन फौजी कीराले धनकुटा जिल्लामा लगाएको मकै खेतीलाई नष्ट गरिदिँदा धनकुटाका किसान चिन्तित भएका छन्। मकै बाली सहित हरियो बालीमा फौजी कीराले असर पु¥याएपछि किसानलाई समस्या भएको हो। अमेरिकी फौजी किरा ६ वर्ष अधि अमेरिका, अफ्रिका, भारत हुँदै नेपाल आइपुगेको हो। नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी किराका लागि निकै उपयुक्त रहेको छ। फौजी किराले हरेक वर्ष मकै बालीमा असर गर्दे आएको छ। किराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकोले समस्या भएको किसान नारद कटुवालले बताउनु भयो। उहाँका अनुसार मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन नसकेको जानकारी दिनुभयो।
सूर्योदयपछि सुर्यास्तसम्म लुकेर बस्ने फौजी किराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्छ। फौजी किरा दिनभर सुषुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गरेको छ। यो किराको आक्रमण निकै तीव्र रूपमा फैलिएको छ। जसले गर्दा मकैका कलिला बोट सुक्न थालेका किसान पुष्प कार्कीले बताउनु भयो। धनकुटाका धेरै जसो मकै खेती गरिएको ठाउँमा यो समस्या रहेको कार्कीको भनाइ छ। उहाँले हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको गुनासो गर्नुभयो। उहाँले यसको दीर्घकालीन समाधानमा चासो नदिएको गुनासो गर्नुभयो।
फौजी किराको सङ्क्रमण कम वर्षा भएको समयमा बढी हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। यो पटक भने वर्षा भइरहेकोले कम सङ्क्रमण भएको ज्ञान केन्द्रको भनाइ छ। फौजी कीराको जोखिम देखा परेको ठाउँमा किसानहरूलाई ज्ञान केन्द्रले स्थानीय तहमार्फत विषादी वितरण गर्ने गरेको र स्थानीय तहले पनि आफैँ विषादी वितरण गर्दै आएको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो।
धनकुटामा १३ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ। तर, पछिल्लो समय जङ्गली जनावर, विभिन्न रोग कीरा, बसाइसराइका कारण मकै खेती गर्ने क्रम निरन्तर घट्दो रहेको बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्