मबाट कुनै अनुचित र भ्रटाचारजन्य काम भएको छैन: पूर्व प्रधानमन्त्री नेपाल

बारा- पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफू निर्दोष रहेको बताउनुभएको छ।

गृह जिल्ला रौतहटबाट काठमाडौँ फर्कने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीहरु संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री नेपालले आफूले एक रुपैयाँ पनि पैसा कतैबाट नलिएको प्रतिकृया दिनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले आफूले कुनै पनि अनुचित रकम नलिएको र कुनै मन्त्री वा कसैलाई गलत काम गर्न दवाव पनि नदिएको प्रष्ट पार्नुभएको छ ।

उहाँले आफूलाई पूर्वाग्रह साँधेर फसाइएको टिप्पणी पनि गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको थियो ।

सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उहाँ सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायार गरेको हो ।

उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी-गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरुलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ ।

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी-गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्वन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.