रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी हुने

काठमाडौँ –  फोटो पत्रकार(पिजे)क्लब र रोटरी क्लब अफ काठमाडौँ सर्कलबिच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदर्शनी गर्नेसम्बन्धी सम्झौता भएको छ । काठमाडौँमा शनिवार एक कार्यक्रमबिच फोटो पत्रकार क्लबका तर्फबाट अध्यक्ष द्वारिका प्रसाद काफ्ले, पूर्व अध्यक्ष विकास कार्की र सचिव कविन अधिकारी तथा रोटरी क्लब अफ काठमाडौँ सर्कलबाट चार्टड प्रेसिडेन्ट नुगल आनन्द वैद्य, प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्य र प्रेसिडेन्ट इलेक्ट नीलहरि कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै चार्टड प्रेसिडेन्ट नुगल आनन्द वैद्यले रोटरीले सन् २००६ देखि विभिन्न क्षेत्रमा रोड सेफ्टी सम्वन्धी विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा कार्यक्रम गर्दै आएको र हाल फोटो पत्रकारहरूसँग जोडिएर काम गर्न पाउँदा आफू र काठमाडौँ सर्कल परिवारलाई खुसी लागेको बताउनुभयो ।

नेपालमा बढ्दो सडक दूर्घटना एउटा चिन्ताको विषय भएको भन्दै दुर्घटना न्यूनीकरण गर्न एक मात्र सरल उपाय भनेको आम जनमानसमा जनचेतना फैलाउनु भएकाले विद्यालय स्तरदेखि घर घरसम्म विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउनुपर्ने उहाँले बताउनुभयो । जसका लागि सबै सङ्घ संस्थासँग सहकार्य जरुरी रहेको वैद्यको भनाइ थियो । प्रेसिडेन्ट बुद्धिप्रसाद आचार्यले सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनीले देश र समाजका हरेक वर्ग र उमेर समूहमा सडक सचेतना विकास गर्न र सडक दुर्घटनाबाट ठुलो सङ्ख्यामा हुने जनधन क्षति न्यूनीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेले दैनिक जसो सडक दुर्घटना र दुर्घटनाबाट ठुलो जनधनको क्षति न्यूनीकरण गर्ने जनचेतनामूलक क्रियाकलापमा क्लब जोडिन पाउँदा खुसी लागेको भन्दै बढ्दै गएको सडक दुर्घटना र दुर्घटनाले पारेको प्रभाव फोटोको माध्यमबाट बालबालिकादेखि आम जनमानस सम्म जनचेतना फैलाउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुभयो । यस्तो महान् सामाजिक कार्यमा सहकार्य गर्ने अवसर दिएकोमा रोटरी क्लब अफ काठमाडौँ सर्कललाई धन्यवाद पनि उहाँले दिनुभयो ।

क्लबका पूर्व अध्यक्ष विकास कार्कीले फोटो पत्रकार क्लब विगत लामो समयदेखि विभिन्न सङ्घ सस्तासँगको सहकार्यमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै एउटा निस्वार्थ समाजसेवामा समर्पित रोटरी क्लब अफ काठमाडौँ सर्कल जस्तो संस्थासँग जोडिएर सडक दुर्घटनासम्बन्धी फोटो प्रदर्शनी गर्ने अवसरले समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.