दाङमा फल्यो स्याउ

दाङ – सामान्यतया स्याउ भन्ने बित्तिकै हामीले हुम्ला, जुम्ला वा मनाङ, मुस्ताङ सम्झन्छौँ तर दाङमा पनि स्याउ फलेको छ ।
भारतको हिमाचल प्रदेशको स्याउ बगैँचामा लामो समय काम गरेका एक युवाले दाङको घोराहीमा स्याउ उत्पादन सुरु गरेका हुन् ।
घोराही उपमहानगरपालिका–११ मचगैँमा स्याउ उत्पादनको सफल परीक्षण गरिएको हो ।
भारतको हिमाचल प्रदेशको स्याउ बगैँचामा १५ वर्ष काम गरेका रोल्पाका युवा मनु बुढामगरले तराईमा फल्ने अन्ना प्रजातिको स्याउ उत्पादन गर्नुभएको हो । सुरुमा थोरै प्रजातिका स्याउ मात्र उत्पादन हुँदै आएकोमा हाल धेरै प्रजातिका स्याउका बिरुवा पाइने भएकाले दाङमा पनि स्याउ उत्पादन गर्न सकिने बुढाको भनाई छ ।
‘सुरुमा थोरै मात्र स्याउका प्रजातिको विकास भएको थियो’ उहाँले भन्नुभयो ‘अहिले हजारौँ प्रजातिका स्याउको विकास भएकाले गर्मी ठाउँमा पनि मज्जाले स्याउ फलाउन सकिन्छ, त्यही अनुसार हामीले उत्पादन सुरु गरेका छौँ ।’
डेढ वर्ष अघि रोपेका बिरुवाले फल दिन थालेपछि बुढाले हाल दाङको हावापानीमा उत्पादन हुने ६ र पहाड तथा हिमालमा हुने ३४ गरी ४० प्रजातिका ४० हजार बिरुवा उत्पादन गर्नुभएको छ । बुढाले हाल दाङका पहाडी क्षेत्र र छिमेकी जिल्लाहरूमा समेत स्याउका बिरुवा बेच्दै आउनुभएको छ ।
विदेशमा सिकेको सीप र ज्ञानलाई आफ्नै देशमा प्रयोग गरी त्यत्तिकै खेर गइरहेको बाँझो जमिनको उपयोग गर्नुका साथै हजारौँ युवाहरूलाई स्वरोजगार बनाउने योजना रहेको पनि बुढाले सुनाउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्