नयाँ सहर बुर्तिबाङमा १२ वर्षमा ५ प्रतिशत वित्तीय प्रगति भएन अपेक्षाकृत विकास 

बागलुङ – एक लाख जनसङ्ख्या बसाउने बुर्तिबाङ सहरमा १२ वर्षमा ५ प्रतिशत मात्र वित्तीय उपलब्धि देखिएको छ । २० वर्षमा कुल ४५ अर्ब बजेट खर्च गर्नुपर्नेमा आयोजना सुरु भएको १२ बर्ससम्ममा जम्मा ७८ करोड मात्रै बजेट प्राप्त भए पनि आर्थिक प्रगति भने जम्मा ५० करोडको मात्रै भएको पाइएको छ ।

नेपाल सरकारले विक्रम संवत् २०६९ सालदेखि मध्ये पहाडी लोक मार्ग अन्तर्गत पर्ने विभिन्न १० सहरलाई व्यवस्थित बनाउँदै उक्त सहरभित्र एक लाख मानिस बस्न सक्ने गरी विकास निर्माण र आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लक्ष्य अनुरूप सुरु भएको बुर्तिबाङ सहरमा नयाँ सहर आयोजना सञ्चालन भएको १२ वर्ष लाग्दै गर्दा जम्मा पाँच प्रतिशत हाराहारीमा मात्र भौतिक प्रगति भएको पाइएको छ ।
बुर्तिबाङ सहर बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित सानो सहर हो । यो सहर पश्चिम क्षेत्रका स्थानीय तह निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बढिगाड गाउँपालिकाको सङ्गम स्थलमा पर्दछ । यहाँबाट नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष पुग्न सकिन्छ । व्यापारिक  केन्द्रको रूपमा रहेको बुर्तिबाङ सहर व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहरको रूपमा स्थापित छ ।

मध्य पहाडी लोक मार्ग आसपासका नागरिकलाई बसाई सराइमा रोक्न यहाँ नै पर्याप्त विकासका पूर्वाधार तयार गरी नागरिकलाई यसै क्षेत्रमा रोक्ने सरकारको लक्ष्य अनुरूप २०६९ सालदेखि सञ्चालनमा आएको नयाँ सहर आयोजना बुर्तिबाङमा अपेक्षाकृत बजेट प्राप्त हुन नसक्नु, पूर्वाधार विकासमा स्थानीयको पर्याप्त सहयोग नहुनु र पर्याप्त संरचना निर्माणमा जग्गा प्राप्तिमा समस्या लगायतका कारण पनि अपेक्षाकृत प्रगति समेत रोकिएको हो ।

साबिक बुर्तिबाङ गाविस वडा नम्बर १ देखि ५ सम्म विकास गर्ने लक्ष्य लिएको आयोजनाले स्थानीय तह पूनर संरचना पश्चात् ढोरपाटन नगरपालिका १ देखि ३ नम्बर सम्म कार्यक्षेत्र बनाएर भौतिक विकासको काम गरिरहेको हो। १२ वर्षसम्म कुल ७८ करोड बजेट प्राप्त भएकोमा हालसम्म जम्मा ५० करोडको मात्रै कार्यसम्पादन भएको नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकृत कोमल शाहले बताउनुभयो  ।

आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको आयोजनाले हालसम्म सडक निर्माण, सडक ढलान, नाली निर्माण, जग्गा खरिद, पार्क निर्माण, पदमार्ग निर्माण, बसपार्क निर्माण, सभा हल निर्माण सौर्य बत्ती जडान, र नयाँ सहर आयोजनाको एकिकृत भवन निर्माणको काम गरेको हो ।

कर्मचारी व्यवस्थापन र आन्तरिक समस्याको कारण कुनै वर्ष सबै बजेट फिर्ता भएको आयोजनामा हालसम्म ३६ प्रतिशत बजेट काम नभईकन फिर्ता भएको पाइएको छ ।

ल्यान्ड पुलिन, चौतारो, अस्पताल निर्माण, सार्वजनिक विद्यालय, कलेज निर्माण, सडक, खानेपानी, पार्क, खेलमैदान सभा हल लगायत व्यवस्थित पूर्वाधार तयार पारी २०९० सालसम्म यहाँ एक लाख जनसङ्ख्या बस्न मिल्ने र उनीहरूले प्राप्त गर्ने सार्वजनिक सेवाको पूर्वाधार तयार पार्ने र यहाँबाट हुने बसाइसराइलाई रोक्ने उद्देश्यका साथ आयोजना सञ्चालन भएको हो ।
हालसम्म परिणाम अनुसार मध्य पहाडी लोक मार्ग अन्तर्गत पर्ने विभिन्न १० स्थानमा सहर बसाउने उद्देश्य स्वरूप अगाडी बढाइएको सरकारको लक्ष्यले पूर्णता पाने अपेक्षा भने कम देखिएको छ । १२ वर्षसम्म पनि अपेक्षाकृत विकास हुन नसक्नु र अन्य क्षेत्रमा समेत सहर विस्तार गरी बजेट कटौती हुँदै गर्दा अपेक्षाकृत विकासले गति लिन नसकेको स्थानीय सामाजिक अगुवा दल बहादुर भण्डारीको भनाई रहेको छ ।

आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, ५ किलोमिटर नयाँ सडक ट्र्याक निर्माण, भब्रेटामा सभा हल निर्माण, कुतथ्याप्लामा एकीकृत भवन निर्माण, मनोरञ्जन पार्क निर्माण, २७२ स्थानमा सौर्य बत्ती जडान, ५६ रोपनी जग्गा खरिद, बसपार्क निर्माण र टर्मिनल भवन निर्माण सँगै तारिखेमा ल्यान्ड पुलिङको काम समेत भइरहेको सूचना अधिकारी शाहको भनाई छ ।

चालु आर्थिक वर्षमा ९ करोड ९५ लाख बजेट विनियोजन भएकोमा बसपार्क निर्माण र टर्मिनल भवन निर्माणको काम तिन करोड, तारिखेत देखि कुत्थ्याप्ला पहुँच मार्ग निर्माण र पार्क निर्माण तर्फ तिन करोड, कर्वडहल देखि दुले नजिक सम्म सडक निर्माण र भब्रेटा खेलकुद मैदान निर्माण,  ३ करोड ३५ लाख र सभा हल निर्माण ५० लाख बराबरको काम भइरहेको जनाइएको हो । अन्य क्षेत्रमा काम भइरहे पनि सभा हल ढोरपाटन निर्माण सेवाले जिम्मा पाएको भए पनी उक्त बाँकी रहेको संरचना निर्माणमा निर्माण कम्पनीले तदारुकताका साथ काम नगरेको पाइएको छ ।

नयाँ सहर आयोजनालाई अगाडी बढाउन सहरी विकास आयोजना मार्फत अगाडी बढाइएको छ । सहरी विकास समितिको मातहतमा हुने विकासमा एक समिति गठन गरी त्यसको मातहतमा काम हुने गरेको हो । जसमा २०६९÷०७० मा सुरुवात भएको नयाँ सहर आयोजना कार्यालयमा नगर विकास समितिको रूपमा तुलसीराम अर्यालले दुई वर्ष २०७०÷०७१ देखि २०७१÷०७२ सम्म अध्यक्षको रूपमा काम गर्नुभयो ।

त्यस्तै २०७२÷०७३ देखि २०७३÷०७४ सम्म अर्जुन शेरचनले काम गर्नुभयो त्यसपछि २०७४÷०७५ मा मेषलाल शर्माले अध्यक्षको रूपमा काम गर्दे गर्दा स्थानीय तहको पुनर संरचना पछि स्थानीय तहको प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने प्रावधान पछि ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको मातहतमा करिब ६ वर्ष आयोजना चल्दै गर्दा पछिल्लो समय मेयर नेपाली सहकारी ठगि पश्चात् कारागारमा रहेका कारण कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षतामा नयाँ समिति गठन गरेर नयाँ सहर आयोजना बुर्तिबाको रेखदेख र  योजना बनाएर अगाडी बढ्न थालिएको हो ।

नयाँ सहर आयोजना सञ्चालन भएदेखि २०९० सम्म एक लाख जनसङ्ख्या बस्न सक्ने वातावरण बनाउने लक्ष्य लिएको नयाँ सहर आयोजनासँग हालसम्म पनि कति मानिसहरू बस्छन् बसाई सराइको अवस्था कस्तो छ । आयोजना सञ्चालन पश्चात् कति मानिस थपिए भन्ने कुनै तथ्याङ्क छैन । ढोरपाटन नगरपालिका तयार पारेको तथ्याङ्क अनुसार करिब पश्चिम हजार मानिस यो सहरमा स्थायी र अस्थायी रुपमा  बस्दै आएको पाइन्छ ।

बुर्तिबाङको भौगोलिक अवस्थिति र सांस्कृतिक धरोहरहरूलाई मध्यनजर गर्दै, यसलाई पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकास गर्ने ठुलो सम्भावना रहेको छ । धार्मिक स्थलहरू जस्तै भगवती मन्दिर र अन्य ऐतिहासिक स्थलहरूले पर्यटकहरूको आकर्षण बढाउन सक्छ । बुर्तिबाङ बजार हुँदै ढोरपाटन पुग्ने हजारौँ पर्यटक यहिँबाटो हुँदै जाने भएका कारण पर्यटन, होटल, र अन्य व्यापारिक हिसाबले समेत महत्त्वपूर्ण रूपमा लिन सकिन्छ । यदि सरकार र स्थानीय निकायहरूले समन्वय र योजनाबद्ध विकासमा ध्यान दिन्छन् भने, बुर्तिबाङलाई एक समृद्ध र आत्मनिर्भर सहरको रूपमा रूपान्तरण गर्न सकिन्छ ।

बुर्तिबाङको नयाँ सहर आयोजना हालसम्म अपेक्षित प्रगति हासिल गर्न असफल भएको छ । पूर्वाधारको अभाव र प्रशासनिक ढिलाइले परियोजनाको कार्यान्वयनमा अवरोध पुर्‍याएको पाइन्छ यसलाई सफल बनाउनका लागि बजेटको वृद्धि, समन्वयको सुधार, र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.