बनेपामा ८० जनालाई विपद् स्वयंसेवक तालिम सुरु

काभ्रे — बनेपा नगरपालिकाका १४ वडाबाट ८० जनालाई लक्षित गर्दै विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरिएको छ।
आइतबारदेखि सुरु भएको तीन दिने तालिम सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ मुख्यालय काभ्रे र बनेपा नगरपालिकाको सहकार्यमा आयोजित गरिएको हो ।
तालिममा विपद् पूर्व तयारी, विपद् उद्धारपश्चात , राहत तथा समन्वयसम्बन्धी व्यावहारिक अभ्यासहरू गराइनेछ ।
नगर प्रमुख शान्ति रत्न शाक्यले विपद् व्यवस्थापनमा सामुदायिक सक्रियता अत्यावश्यक रहेको भन्दै, सुरक्षाकर्मीहरू तत्काल नपुग्ने अवस्थामा वडा स्तरका स्वयंसेवकले जीवन रक्षक भूमिका खेल्न सक्ने बताउनुभयो ।
उप–प्रमुख विमला सापकोटाले विगतमा आए को बाढी, पहिरो र वर्षाबाट सिकेका पाठको स्मरण गर्दै, विपद् सम्बन्धी जनचेतना अत्यावश्यक रहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल, गण नं १५ मुख्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईँले तालिमप्राप्त स्वयंसेवकहरू उद्धार र राहत कार्यमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।
तालिम नेपाल रेडक्रस सोसाइटी, काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ र भविष्यमा जिल्लाका अन्य पालिकामा पनि गरिने जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्