प्रधानमन्त्रीलाई राक्सिराङबाट पेरुङोमा ‘चिउरी’ कोसेली

मकवानपुर –  चेपाङ समुदायको संस्कृति, जीविकोपार्जन र परम्परासँग गहिरो सम्बन्ध राख्ने ‘चिउरी’ र निगालोबाट बुनेको ‘पेरुङो’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोशेली स्वरुप प्रदान गरिएको छ ।

बहु उपयोगी चिउरीलाई भोर्लाको पातमा बेरेर पेरुङोमा राखेर प्रधानमन्त्रीलाई पठाइएको मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार बताउनुभयो । मल्लले पठाउनु भएको कोसेली बागमती प्रदेश सभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई दिनुभएको थियो ।

चेपाङ समुदायको पहिचान बोकेको परम्परागत सामग्री र खाद्य बस्तुलाई राष्ट्रिय तहमा पुराउनका लागि प्रधानमन्त्रीलाई कोसेली पठाइएको अध्यक्ष मल्लले बताउनुभयो ।

कोसेली ग्रहण गर्दै प्रधानमन्त्री ओलीले रैथाने परम्परागत वस्तुको संरक्षण र रोजगारी सिर्जनामा विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत बालीहरूको सम्भावना प्रचुर रहेको भन्दै तिनीहरूको व्यावसायिक उपयोगमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न सकिने बताउनु भएको प्रदेश सभा सदस्य पाठकले जानकारी दिनुभयो । उक्त अवसरमा वन क्षेत्रको दिगो व्यवस्थापनका सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले चासो राख्नुभएको थियो ।

प्रधानमन्त्रीले वन स्रोतको संरक्षण र समुदायसँगको सहकार्यमा आधारित व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.