प्रतिनिधि सभा अबरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित
भाषामा समझदारी बनेपछि संसद खुल्छ: प्रचण्ड

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ ।
भिजिट भिसा प्रकरणमा छानबीन र गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै प्रतिपक्षी दलहरुको अवरोधका कारण १२ दिनदेखि बैठक बस्न नसक्दा बजेटमाथिको छलफल प्रभावित भएको हो ।
प्रतिपक्षी दलहरुको अवरोधपछि आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ ।
सहमतिको प्रयासपछि साँझ बसेको बैठक पनि अवरुद्ध गरिएपछि सभामुख देवराज घिमिरेले बैठक सोमबार बस्ने गरि स्थगित भएको जानकारी गराउनुभएको हो ।
प्रतिनिधि सभाको गतिरोध विगत १२ दिनदेखि जारी रहँदा संसदमा बजेटमाथिको छलफल अवरुद्ध छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे प्रश्न उठाउदै प्रमुख प्रतिपक्षी नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले जेठ १३ गतेदेखि वैठकमा अवरोध गर्दै आएका छन् ।
यसबीचमा जेठ १५ गते बजेट प्रस्तुत भएकोबाहेक बाकी अधिकांश दिनहरुमा सूचना टाँस गरी बैठक स्थगित हुँदै आएको छ । जेठ १३ गतेदेखि २५ गते सम्म २ दिन समय सारेर पनि बैठक बस्न सकेन ।
बैठक बस्न नसक्दा बजेटमाथिको छलफलका लागि जेठ २० गतेदेखि २३ सम्मका लागि छुट्याइएको समय त्यसै खेर गएको छ ।
जेठ २६ गतेदेखि विनियोजन विधेयकमाथिको छलफल र असार ३ गते नयाँ बजेट पारितका लागि कार्यतालिका तय गरिएको छ ।
तर दलहरुबीच सहमति बन्न नसक्दा दलहरु स्वयंको सहमतिमा बनेको प्रतिनिधिसभाको कार्यतालिका पूर्णरुपमा प्रभावित भैरहेको छ ।
यसवीचमा संसदको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले पटक पटक मुख्य दलका प्रमुख सचेतकहरुको बैठक राख्नुभयो । तर सत्तापक्ष र प्रतिपक्ष आफ्नो अडानमा यथावत रहँदा सहमति बन्नै सकेन ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादीले गृहमन्त्रीको राजीनामाबाट केही लचिलो देखिएर संसदीय वा न्यायिक समिति गठनको माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताउनुभएको छ ।
संसद भवनवाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले निकास निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राख्नुभयो ।
उहाले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गर्नुभयो ।
सत्तारुढ दल नेकपा एमाले र कांग्रेस प्रमुख सचेतकले भने विपक्षी दलको माग अनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नेमा सहमत हुन नसकिने स्पष्ट पार्नुभयो ।
सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षको आ आफ्नै अडानले पटक पटक गरिएको प्रयास निष्कर्षविहीन बन्दै आएको छ । सभामुखले सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरेर छलफल चलाएपनि निकास नदिएकोमा असन्तुष्टि पनि जनाउनुएको छ ।
संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उहाँले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गर्नुभयो ।
यसैवीच, प्रमुख प्रतिपक्षी माओवादीले प्रतिपक्षी दलहरुका साथै सत्तापक्ष नेपाली काँग्रेससंग पनि छलफल गरेको छ । तर बैठकमा सत्तापक्ष नेपाली काँग्रेस लचिलो नभएको ब्रिफिङ भयो ।
त्यसपछि माओवादी र काँग्रेसको छुट्टै बैठक पनि बस्यो । तर दलहरुबीच सहमति बन्न नसक्दा प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्