एवोकाडोबाट राम्रो आम्दानी गर्दै किसान

दाङ – धेरै मेहनत पनि नलाग्ने र एक पटक लगाएपछि वर्षौसम्म फाइदा लिन सकिने भएपछि दाङका किसानहरु एबोकाडो खेतीमा आकर्षित भएका छन् ।
घोराही उपमहानगरपालिका–११ बाँसगजेरीका किसान ठाकुर रोकाले एबोकाडो खेतीबाट वार्षिक ३ देखि ५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । यसको फल प्रति किलो २ सयदेखि ३ सय रुपैयाँमा बिक्री गर्दैआएको किसान रोकाले बताउनुभयो । रोपेको ३ देखि ५ वर्षमा फल दिने र एक पटक लगाएपछि वर्षौसम्म फल दिने भएकाले यो खेती गर्न निकै सजिलो भएको किसान रोकाको भनाई छ । ‘करिब २० वर्षअघि काठमाण्डौंबाट ३ वटा विरुवा लिएर परिक्षण गर्दा राम्रो फल दिन थालेपछि व्यवसायिक रुपमा खेती सुरु गरेको हुँ’ रोकाले भन्नुभयो ‘दाङमा एबोकाडो भित्र्याउने पहिलो व्यक्ति नै म हो ।’
त्यत्तिकै खेर गइरहेको बाँझो जमिनमा लगाउन मिल्ने एबोकाडो फल विक्रीका लागि बजारको अभाव पनि नहुने भएकाले यसको खेतीमा लाग्न युवाहरुलाई रोकाले आग्रह गर्नुभयो ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसलाई अमृत फलको रुपमा समेत लिने गरिन्छ । कोरोना संक्रमणको बेला यो फलको माग अत्यधिक बढेको समेत किसानहरुको भनाई छ ।
दाङ र छिमेकी जिल्लाको जुनसुकै ठाउँमा पनि यसको खेती गर्न सकिने भएपछि रोकाले नर्सरी बनाएर यसको विरुवा समेत विक्री गर्दै आउनुभएको छ । यो खेतीमा धेरै मेहनत पनि नलाग्ने र एक पटक लगाएपछि वर्षौसम्म फाइदा लिन सकिने भएपछि पछिल्लो समय जिल्लामा व्यवसायिक रुपमा एबोकाडो खेती गर्नेको संख्या बढ्दै गएको छ ।






प्रतिक्रिया राख्नुहोस्