रेसुङ्गा क्याम्पसमा विद्यार्थी सङ्ख्या बढ्दै

 गुल्मी  – तीन वर्षअघि आर्थिक सङ्कटकाल घोषणा गर्न बाध्य भएको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले उल्लेखनीय प्रगति गर्दै पुनः स्थायीतर्फ कदम चालेको छ । विगतमा बन्द हुने अवस्थामा पुगेको यो क्याम्पसले पछिल्लो तीन आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले पत्रकार सम्मेलनमार्फत क्याम्पसको प्रगतिको जानकारी दिँदै विद्यार्थी सङ्ख्या र आर्थिक व्यवस्थापन दुबैमा सुधार आएको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूमा क्याम्पसको आम्दानी भन्दा दोब्बर तलब खर्च हुँदै आएको थियो ।

जसका कारण प्रत्येक वर्ष झन्डै डेढ करोड रुपैयाँभन्दा बढी ऋण थपिन थालेको थियो । शिक्षक र कर्मचारी कटौती तथा खर्च नियन्त्रणका उपायमार्फत सुधारको बाटो लिइएको अध्यक्ष  भलामीले जानकारी दिनुभयो।

यसो हुनुमा क्याम्पसका विभिन्न खर्चहरू उच्च थिए । जसलाई नियन्त्रण गर्ने प्रयास क्याम्पसले तीव्र रूपमा सुरु गरेको थियो ।
प्रारम्भिक सुधार प्रक्रियामा ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकाश दिइएको थियो । विश्वविद्यालयको नियम अनुसार १० जना भन्दा कम विद्यार्थी भएका कक्षा सञ्चालन गर्न नपाइने भएकाले यस्तो निर्णय लिइएको थियो ।

यसैसँगै, क्याम्पसले आफ्ना प्रशासनिक र अन्य खर्चहरूमा कटौती गर्न सुरु गर्‍यो । यस निर्णयपछि, क्याम्पसले आफ्नो वित्तीय स्थिति सुधार्न थालेको सञ्चालक समिति अध्यक्ष भलामीको भनाइ छ ।

क्याम्पसले खर्च कटौतीका साथसाथै आम्दानी बढाउने उपायहरू पनि अपनाइरहेको क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायले बताउनुभयो । यस प्रयासले क्याम्पसलाई आर्थिक रूपले सुदृढ बनाउने दिशामा अघि बढाएको छ ।

अहिले क्याम्पसले प्रशासनिक खर्च कटाएर आम्दानी गर्न समेत थालेको बताइएको छ । शैक्षिक सत्र २०७९र०८० मा क्याम्पसमा ७४९ जना विद्यार्थी अध्ययनरत थिए भने २०८०र०८१ मा ७१९ र २०८१र०८२ मा सङ्ख्या पुनः बढेर ७३१ पुगेको छ ।

स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा हाल विद्यार्थीको आकर्षण पुनः बढ्न थालेको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या बढ्नु र क्याम्पसको आर्थिक अवस्था सुधारिनुले क्याम्पसका सञ्चालकहरूमा उत्साहको लहर पैदा गरेको छ ।

वि.सं. २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस ४३ वर्षदेखि उच्च शिक्षाको सेवा दिँदै आएको छ । ७ वटा सुविधा सम्पन्न भवन र ६५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसले आर्थिक रूपमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।
जसले क्याम्पसलाई शैक्षिक र भौतिक दृष्टिले अझ बलियो बनाएको छ । क्याम्पसले आफ्नो समृद्ध भविष्य र शैक्षिक प्रगतिको यात्रा जारी राख्ने सञ्चालक समिति अध्यक्ष भलामीले बताउनुभयो  ।

ग्रामीण क्षेत्रका क्याम्पसहरूमा विद्यार्थी घट्दै गएकै बेला रेसुङ्गा क्याम्पसको पुनरुत्थानले शिक्षा क्षेत्रको लागि सकारात्मक सङ्केत पैदा गरेको छ । हाल क्याम्पसमा १५ जना पूर्णकालीन, १० जना आंशिक प्राध्यापक गरी २५ जना प्राध्यापकहरू र ७ जना कर्मचारीहरू कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.