देशले खोजेको नेतृत्व अहिलेसम्म पाउन नसकेको पूर्व प्रधानन्यायाधीश श्रेष्ठको भनाई

नुवाकोट – सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिले देशको राजनीति निराशामा रहेको खुलासा गरेका छन् । उनले अव सबैले निराशालाई अन्त्य गर्नु पर्ने समय आइसकेको बताउनुभयो ।
नुुवाकोटको वट्टार बजारमा सोमवार आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले अहिलेको राजनीति निराशावादी भएका कारण जनशक्ति पलायन भइरहेको बताए । विश्वको उच्चतम विधिलाई मानिए पनि नेपालको राजनीति भने जनतालाई निराशा मात्रै दिएको आरोप लगाउनुभयो ।
उहाँले मुलुकमा सरसर्ति विश्लेषण गर्दा २००७ सालमा जुन अवस्था देशमा थियो त्यही अवस्थामै देश रोकिएको उहाँले बताउनुभयो । श्रेष्ठले पहिले जस्तै अहिले पनि अर्थतन्त्र उहि र उस्तै अवस्थामा रहेको, देशमा उत्पादकत्व नबढेको, जनशक्ति बिदेसिएको, आयात अवस्था बढेको, ऋण भार थपिएको, अनुत्पादनशील क्षेत्र बढेको र केही रेमिट्यान्सको भरमा मात्र देश थामिएको बताउनुभयो ।
देशमा व्यवस्था फेरिए पनि अवस्था उस्तै रहँदा नेपाली जनतामा निराशा छाएको श्रेष्ठको आरोप छ । बिदेसिएका जनशक्तिले पठाएको रेमिट्यान्स समेत अनुत्पादक क्षेत्रमा खर्च भइरहेको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले देशमा चुनाव त हुन्छ, नेताले चुनाव जित्छन् । तर, देशले खोजेको नेतृत्व अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो ।
अहिले विद्यालय र शिक्षक छ विद्यार्थी छैन, बाटो छ हिँड्ने मानिस छैन, गाउँ छ युवा छैनन्, देश छ जनशक्ति छैन भन्ने अवस्था रहेकोमा यसको मूल्याङ्कन गरेर सबैले उत्पादनशील र परिणाममुखी क्षेत्रमा कार्य गर्नु पर्ने वेला आएको पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्