राप्ती सोनारी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनीतिक योजना सार्वजनिक

दाङ– लुम्बिनी प्रदेशमा खाद्य तथा पोषण सुरक्षालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यका साथ राप्ती सोनारी गाउँपालिकाले तयार पारेको खाद्य तथा पोषण सुरक्षा रणनीतिक योजना २०८१\०८२ देखि २०८५\०८६ को औपचारिक विमोचन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र प्रमुख सचिव बाबुराम अधिकारीले संयुक्त रूपमा उक्त रणनीतिक योजनाको विमोचन गर्नु भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पन्थीले खाद्य तथा पोषण सुरक्षालाई सुनिश्चित गर्न समुदायलाई सक्रिय रूपमा सहभागी गराई स्थानीय स्तरमै उत्पादन वृद्धि गर्नु आवश्यक रहेको बताउनु भयो । साथै, उहाँले उत्पादन भएको वस्तुको सदुपयोगमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

मन्त्री पन्थीले विशेष गरी सीमान्तकृत तथा विपन्न समुदायहरू खाद्य अधिकारको जोखिममा रहेको भन्दै तिनीहरूको जीविकोपार्जन सुधारका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत प्रत्यक्ष हस्तक्षेप गरिने जानकारी दिनुभयो । सोही अवसरमा प्रमुख सचिव बाबुराम अधिकारीले विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरूलाई राज्यको मूल धारमा ल्याउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउनु भयो ।

उहाँले यस्तो योजना र पहलहरूले खाद्य तथा पोषण सुरक्षाको क्षेत्रमा प्रदेश स्तरमै उदाहरणीय अभ्यासको थालनी गर्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रम राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा होप ट्रेनिङ एन्ड रिसर्च सेन्टर नेपाल र फियान नेपालको समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा अन्य विज्ञहरूको सहभागिता रहेको थियो ।

यस योजनामार्फत पोषणयुक्त खाद्य पहुँच, सामाजिक समावेशीकरण, बालबालिका र आमाहरूको पोषण सुधार, खाद्य अधिकारको संरक्षण तथा दिगो कृषि प्रणालीको प्रवर्द्धन लगायतका कार्यक्रमहरूलाई प्राथमिकता दिइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.