गोरखामा पकेटमारका घटनामा संलग्न तीनजना पक्राउ

गोरखा- गोरखा प्रहरीले तीन जना पाकेटमारलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । सार्वजनिक बसमा यात्रा गरिरहेका यात्रुको ३ लाख ५० हजार रुपैयाँ पाकेटमार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका-४ ताक्लुङ घर भई हाल चितवनको रत्ननगर नगरपालिका-११ सितलटोल बस्ने बर्ष ४९ का दिपक परियार, सोही स्थानका बर्ष ३५ का आशिक भूजेल र शहिदलखन गाउँपालिका-४ ताक्लुङक घर भई हाल चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने बर्ष ४३ का दान नारायण श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरीले श्रेष्ठलाई चितवन पुगेर निजकै घरबाट पक्राउ गरेको थियो भने अन्य दुई जनलाई भने गोरखा सदरमुकामको लक्ष्मीबजार क्षेत्रबाट पक्राउ गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
पक्राउ परेकाहरुले ०८१ साल फागुन ८ गते दिउँसो गण्डकी गाउँपालिका-२ निवासी बर्ष ७१ का गिरीराज पन्तको साथमा रहेको एक लाख नगद चोरी गरेका थिए । पन्त गोरखा बजारबाट लक्ष्मीबजारतर्फ सार्वजनिक बसमा जाँदै गर्दा उक्त रकम चोरी भएको थियो ।
०८२ जेठ ७ गते गोरखा सदरमुकामको हरमटारीमा बस्ने बर्ष ८२ का गंगा बहादुर श्रेष्ठले भारतीय पेन्सन क्याम्पबाट बुझि ल्याएको दुई लाख रुपैयाँ लक्ष्मीबजारदेखी गोरखा सदरमुकामतर्फ आउँदै गर्दा बाटोमै चोरी भएको थियो ।
त्यस्तैगरी, ०८२ साल जेठ ११ गते बिहान ११ बजेको समयमा लक्ष्मीबजारदेखी गोरखा बजारतर्फ आउँदै गरेका शहिदलखन गाउँपालिका–५ बस्ने चोक बहादुर थापा मगरको साथमा रहेको ५० हजार चोरी भएको थियो । थापा मगर पनि भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर गोरखा बजारतर्फ आउँदै गर्दा सार्वजनिक बसमा लुटिएका थिए ।
पक्राउ परेकाहरुले चोरी भएको तीनैवटा आरोप स्विकार गरेको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरु विरुद्ध चोरी सम्बन्धी कसूर मुद्दा दर्ता गरेर गोरखा जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ । आरोपित सबैलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्