मुस्ताङको तापक्रम ३५ वर्ष यताकै उच्च

पर्वत- हिमालपारिको जिल्ला मुस्ताङमा ३५ वर्ष यता कै अत्यधिक तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखरा, एरोसिनप्टिक फिल्ड केन्द्र जोमसोम मुस्ताङका अनुसार यो वर्ष अत्यधिक गर्मी महसुस भएको हो ।
केन्द्रले दिएको जानकारी अनुसार आज भन्दा ३५ वर्ष अघि २०४६ साल जेठ १५ गते जोमसोमको तापक्रम ३१ डिग्री सेल्सियस मापन भएको थियो । त्यस यता सबै भन्दा बढी जेठ २५ गते २७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको केन्द्रका कर्मचारी सुमना रेग्मीले जानकारी दिनुभयो । गर्मी छल्नका लागि मुस्ताङ पुग्ने गरेका पर्यटकहरू पनि मौसम उतार चढावका कारण प्रभावित बनेका छन् । प्राय जसो माइनस डिग्रीमा रहने उपल्लो मुस्ताङ लोमाङथाङको तापक्रम पनि १५ डिग्री देखि माथि हुने गरेको छ ।
हिमाली क्षेत्रमा तापक्रम वृद्धि भएसँगै मौसमविद्हरूले हिम पहिरोको जोखिम बढ्ने अनुमान लगाएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद भुसालले जुनसुकै विपद् आइपरे पनि तुरुन्तै प्रतिकार्य गर्ने योजना सहित तयारी अवस्थामा रहेको बताउनुभयो । ‘हिमाली जिल्ला भनेको गर्मी भएपछि खोला नाला बढ्ने ठाउँ हो’ उहाँले भन्नुभयो ‘यी र यस्तो संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय सरकार सँग मिलेर जोखिम व्यवस्थापनका लागि तयारी गरिएको छ’ प्रजिअ भुसालले मुस्ताङ जिल्ला भित्र पर्ने स्याङखोला, मार्फा खोला, थाक खोला र मुख्य नदी काली गण्डकी किनारमा रहेका बस्तीहरूलाई पुर्व वत रूपमा नै सजग गराइसकिएको र प्रत्येक बस्तीमा २५ जनाको समूह बनाएर सूचकहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
प्रजिअ भुसालका अनुसार हिउँ पग्लेर खोला नाला बढ्ने र हिम पहिरोको समेत जोखिम हुने हुँदा सबै तहलाई तयारी अवस्थामा रहन समेत सूचित गरिएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्