कोशी टप्पुमा रमाउँदै गैँडा पुष्पा र अञ्जलीः संरक्षणको नयाँ कथा

 

सुनसरी –  करिब दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका पोथी गैँडा पुष्पा र अञ्जली अहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा रमाइरहेका छन् । माउबाट छुट्टिएको अवस्थामा उद्धार गरिएका यी दुबै गैँडा सप्तरी जिल्लास्थित पथरी सेक्टरमा हात्ती तथा आरक्षका कर्मचारीहरूसँग घुलमिल हुँदै जीवन व्यतीत गरिरहेका छन् ।

कोशी प्रदेशको सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरी जिल्लामा फैलिएको १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलको कोशी टप्पु वन्यजन्तु आरक्षमा उनीहरूको स्याहारसुसारका लागि विशेष व्यवस्था गरिएको छ । आरक्षको पथरी सेक्टरमा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर बनाइएको छ, जसमा उनीहरूलाई दैनिक घुमघाम र चरिचरणपछि विश्रामका लागि ल्याइन्छ ।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र प्रसाद यादवका अनुसार कोशी टप्पुको वेटल्याण्ड र ग्रासल्याण्ड वातावरण गैँडाको लागि अत्यन्त उपयुक्त मानिन्छ । शुरुवाती दिनमा नयाँ वातावरणमा अभ्यस्त हुन कठिनाइ भए तापनि अहिले पुष्पा र अञ्जली कोशी टप्पुको परिवेशसँग निकै घुलमिल भइसकेका छन् ।

दिनचर्या अनुशासित, हात्तीसँग घुमफिर

दैनिक बिहान ६ बजे इन्क्लोजरबाट घाँसे मैदानतर्फ निकालिने गैँडाहरू दिउँसो ११ बजेसम्म हातीसँग चरन क्षेत्र घुम्छन् । साँझ ५ बजे भने आफैं इन्क्लोजर फर्कने गरेका छन् । हेरालु कर्मचारी दुर्गानन्द यादवका अनुसार, उनीहरू अब आरक्षका हात्ती र कर्मचारीहरूसँग आत्मीयता बनाइसकेका छन् ।

भाले गैँडा ल्याउने तयारी

पुष्पा र अञ्जली आरक्षमा सहज भएर रमाउन थालेपछि अब चितवन राष्ट्रिय निकुञ्जबाट भाले गैँडा ल्याउने तयारी भइरहेको छ ।  संरक्षण अधिकारीहरू अनुसार, पोथी गैँडा चार वर्षको उमेरपछि प्रजननका लागि योग्य हुन्छन् । पुष्पा चार वर्ष उमेर कटाइसकेको वेला  चितवनमै रहँदा उनी प्रजनन इच्छुक देखिएको बताइएको छ ।

 

आरक्षले कोशी टप्पुलाई ‘गैंडा सेन्चुरी’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित यो पहल अगाडि बढाएको हो । नेपाली सेनाको सुरक्षा र अहिले रहेको गंैंडाको वासस्थान भन्दा पराकिलो घासे मेदान तरले घेरावारा गरिने र थप सुरक्षा अपनाएर भाले गैंडा आरक्षमा छाडिने आरक्षको तयारी रहेको छ ।

गाउँडुलुवा गैंडा, ‘मेघौलीफिर्ता

यसअघि कोशी टप्पुमा स्थानान्तरण गरिएको भाले गैँडा ‘मेघौली’लाई भने पुनः फर्काइएको छ ।  पश्चिम चितवनको मेघौलीबाट २०७४ सालमा उद्धार गरिएको करिब १० वर्षे मेघौली आरक्षको घाँसे मैदानभन्दा गाउँतिर डुल्न रुचाउने भएपछि पुनः चितवन लगिएको हो । प्राकृतिक वासस्थानभन्दा मानव बस्तीमा बस्न रुचाएको भन्दै मेघौलीलाई आरक्षले “गाउँडुलुवा“ को रूपमा चिनाएको छ ।

 

गैंडाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानान्तरण इतिहास

चितवन निकुञ्जबाट सन् १९८६ यता स्वदेशमा मात्र १०३ वटा गैँडा स्थानान्तरण गरिएका छन्। तीमध्ये ४५ भाले र ५७ पोथी थिए। सबैभन्दा धेरै ९१ वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको थियो, जसमा हाल ३८ वटा मात्र जीवित छन्।

 

यति मात्र होइन, चितवनका गैँडा मित्र राष्ट्रहरूलाई उपहारस्वरूप पनि प्रदान गरिँदै आएको छ। सन् १९८५ देखि हालसम्म नौ देशमा २६ वटा गैंडा पठाइएको तथ्यांक छ। तीमध्ये अमेरिकाले सबैभन्दा धेरै—६ वटा गैंडा पाएको छ। त्यसैगरी भारत, जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीन समेत गैंडा पाएका देश हुन्। चीनले अन्तिमपटक सन् २०१८ मा दुईवटा गैँडा उपहारमा पाएको थियो।

 

नेपालमा कूल ७५२ गैंडा

पछिल्लो गैंडा गणनाअनुसार हाल नेपालमा कूल ७ सय ५२ वटा गैँडा छन्।

चितवनमा ६ सय ९४, बर्दियाः ३८,शुक्लाफाँटा १७,पर्सा ३, कोशी टप्पुमा २ रहेको छ  । चरा र अर्नाको राजधानीको प्रसिद्धी कमाएको कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय गैंडाले दिएको परिचय संरक्षण कर्मि मात्र हैन यस क्षेत्रका स्थानिय र आन्तरिक पर्यटहरुलाइ समेत उत्साहित बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.