पदमार्ग मार्फत ध्वजे डाँडा–खुवालुङ जोड्दै साँगुरी गढी

धनकुटा- धनकुटाको साँगुरी गढी गाउँपालिकाले ध्वजे डाँडाबाट खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ। खुवालुङ किरातहरूको सभ्यतासँग जोडिएको स्थान हो।
त्यस्तै ध्वजे डाँडा गाउँपालिकाको सबैभन्दा अग्लो स्थान सहित महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। अरुण, तमोर र सुनकोसी नदी मिसिने स्थान त्रिवेणीमा रहेको किरातहरूको आस्थाको केन्द्र खुवालुङलाई महाभारत पर्वत शृङ्खला अन्तर्गतका डाँडै डाँडा ध्वजे डाँडासँग जोड्न लागिएको हो। गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर विभिन्न स्थानमा संरचना निर्माण गरिएको छ।
पदमार्गमा पर्ने झाँडीहरुको सरसफाइ, डेढ मिटर चौडा भएको करिब ६ किलोमिटर लम्बाइको फुट ट्र्याक, ७ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सुख्खा पर्खाल लगायतको संरचना निर्माण गरेको छ। बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३३ लाख रुपैयाँ बजेटबाट काम भइरहेको छ। जसबाट असार पहिलो सातासम्ममा काम सम्पन्न गरिने इन्जिनियर दीपक राईले बताउनु भयो। उहाँका अनुसार पदमार्गमा विश्रामालय र विभिन्न ठाउँमा डस्विन राखिएको छ। पदमार्ग आगामी आर्थिक वर्षबाट सञ्चालनमा आउने राईले बताउनु भयो।
गाउँपालिकालाई दीर्घकालीन पर्यटकीय हबको रूपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो। ध्वज डाँडाबाट सुरु हुने पदमार्ग ५ नं. वडाको ओख्रे बजार, ६ नं. वडाको नाम्जे बजार, भेडे टार बजार, पाथीभरा मन्दिर हुँदै साँगुरी गढी, ७ नं. वडाको टोपेटेम्बा, ८ नं. वडाको रनफने डाँडा, ९ नं. वडाको झण्डीडाँडा हुँदै १० नं. वडाको लिम्बू चौतारा हुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ। यी दुई गन्तव्य जोड्न सके साँगुरी गढी गाउँपालिकाका विभिन्न स्थान जोडिनुको साथै भेडे टार घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई नयाँ गन्तव्य मिल्ने साँगुरी गढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउनु हुन्छ। नयाँ आर्थिक वर्षको सुरुमै पदमार्गको सुरुवात गर्ने अध्यक्ष राईको भनाइ छ। पछिल्लो समय पदमार्गमा हिँड्ने चलन बढेको र यसले गाउँपालिकाको पर्यटन प्रवर्द्धनको विकास हुने भएकाले काम गरिएको अध्यक्ष राईले बताउनु भयो। अहिले ६ वटा हुँदै गएको भए पनि यसलाई १० वटै वडामा पुर्याउने लक्ष्य रहेको उहाँको भनाइ छ।






प्रतिक्रिया राख्नुहोस्