इटहरीको खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा
डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ

सुनसरी — कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको Province Investigation Team (PIT) ले इटहरी उप–महानगरपालिका क्षेत्रमा तीन दिनसम्म सञ्चालन गरेको विशेष अपरेशनबाट क्रिप्टोकरेन्सीमार्फत हुण्डी कारोबार र अनलाइन जुवा (गेमिङ) सञ्चालनमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूले नेपाली रुपैयाँमा अनुमानित डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको PIT टोलीले जनाएको छ।
मुख्य अभियुक्त : प्रभु र प्रशिन
पहिलो चरणमा PIT टोलीले इटहरी–१२, खनार निवासी २७ वर्षीय प्रभु नारायण चौधरी र इटहरी–११ निवासी २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरेको हो। प्रभु यसअघि पनि मोरङबाट क्रिप्टोमार्फत हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ परिसकेका थिए।
यी दुई जना साथी रहेका र लामो समयदेखि संयुक्त रूपमा क्रिप्टोको प्रयोग गरी हुण्डी कारोबार तथा अनलाइन जुवा सञ्चालन गर्दै आएको बताइएको छ। प्रहरीले उनीहरूको साथबाट उच्च प्रोसेसरयुक्त मोबाइल सेटहरू बरामद गरेको छ—प्रभुको साथबाट दुई थान र प्रशिनको साथबाट एक थान मोबाइल बरामद गरिएको छ।
लक्जरी जीवनशैली र प्रहरीको निगरानी
प्रभु र प्रशिन घरमै बसेर सञ्चालित यो अवैध कारोबारको क्रममा बाहिर निस्कनु पर्ने अवस्था आएमा मात्र पैसा डेलिभरी गर्न निस्किने गरेका थिए। आलिशान घर, पाँचवटा एसी जडान, अत्यधिक खर्चिलो जीवनशैली र कम उमेरमै देखिएको अस्वाभाविक आर्थिक स्थिति पछि प्रहरीले विशेष निगरानी थालेको थियो।
नेपाल राष्ट्र बैंकबाट कुनै अनुमति नलिई विदेशी भौतिक मुद्रा कारोबार गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको PIT स्रोतको भनाइ छ।
दोस्रो समूह : सुरज भनिने सन्तोषसहित चार जना पक्राउ
पक्राउ पर्ने दोस्रो समूहमा इटहरी–७ निवासी २२ वर्षीय सन्तोष कुमार साह (उर्फ सुरज), इटहरी–११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास, र इटहरी–१२ का ३२ वर्षीय लालबहादुर गौतम रहेका छन्।
सन्तोष यसअघि पनि यस्तै प्रकृतिको मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। यो समूहले पनि क्रिप्टो वालेटहरू—बाइनेन्स र क्यास एप—को माध्यमबाट हुण्डी कारोबार गर्दै आएको खुल्न आएको छ।
डिजिटल मुद्रामार्फत अन्तर्राष्ट्रिय कारोबार
पक्राउ परेकाले अमेरिकी डलरमा आधारित USDT (Tether) क्रिप्टोकरेन्सी प्रयोग गरी नेपाली तथा भारतीय रुपैयाँको कारोबार गर्ने गरेका थिए। उनीहरूले अन्य व्यक्तिका लागि अनलाइन गेमिङ गरिदिने र कारोबारमा सहजीकरण गरिदिने सर्तमा ५ देखि २० प्रतिशत कमिसन लिने गरेका थिए। कतिपय अवस्थामा उनीहरूले रकम गायबसमेत गराइदिने गरेको अनुसन्धानले देखाएको छ।
अनुसन्धान र कानुनी प्रक्रिया अगाडि
पक्राउ परेका सबै ६ जनालाई जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ। इटहरी प्रहरीले जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। अब उनीहरूको मोबाइल, बैंक खाता र डिजिटल कारोबारको विस्तृत अध्ययन गरिनेछ।
क्रिप्टो प्रतिबन्ध र सरकारको दृष्टिकोण
नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार कानुनी रूपमा प्रतिबन्धित छ। नेपाल राष्ट्र बैंकका अनुसार क्रिप्टोले स्वदेशी लगानीलाई विदेशमा पलायन गराउने, विदेशी मुद्राको सञ्चिति व्यवस्थापनमा चुनौती सिर्जना गर्ने र वित्तीय प्रणालीमै अस्थिरता ल्याउने सम्भावना रहेको हुँदा यसको कारोबारमा कडाइ गरिएको हो।






प्रतिक्रिया राख्नुहोस्