सल्यानमा होटेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी १० दिने तालिम

सल्यान – पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन तथा रोजगारी सृजना गर्न सल्यानको वन गाड कु पिण्डे नगरपालिका–८, बावियाचौरमा होटेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ।
कु पिण्डे तालमा आउने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीय १५ जना व्यवसायीलाई तालिम दिएको हो।
तालिममा व्यावसायिक योजना, खानपान तयारी, पाहुना सत्कार, सरसफाइलगायत विषयमा व्यावसायिक सीप प्रदान गरिएको प्रशिक्षक लोकमान केसीले जानकारी दिनुभयो।
नास्ता पसल सञ्चालन गर्दै आउनु भएका सहभागी शुकदेव आचार्यले तालिमबाट होटेल व्यवसायमा सेवा सुधार गर्ने सीप सिकिएको बताउनुभयो।
त्यस्तै, अर्की सहभागी निर्मला कँवरले तालिमपछि आत्मविश्वास बढेको अनुभव सुनाउँदै व्यवसाय अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्ने बताउनुभयो।
वन गाड कु पिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले कु पिण्डे तालको गुरुयोजना तयार गरी पूर्वाधार निर्माण, वातावरण संरक्षण, ताल सरसफाइ र प्रचारप्रसारको काम अघि बढाइएको जानकारी दिनुभयो।
उहाँका अनुसार चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ खर्च गरेर काम गरिए पनि आगामी वर्ष दातृ निकायको सहयोगमा २० करोड रुपैयाँभन्दा बढी लगानी गरी थप कार्य गरिने छ।
नगर उपप्रमुख पुरुषोत्तम आचार्यले सीपमूलक कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न खोजिएको उल्लेख गर्दै सिकेको सीप व्यवहारमा प्रयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।
वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर पुरीले तालमा दैनिक आउने पर्यटकलाई लक्षित गरेर सञ्चालन गरिएको तालिमले व्यवसायीलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्