ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण

वृद्धाश्रममै पुगेर उपचार

नुवाकोट-  नुवाकोटको देवी घाटस्थित एक वृद्धाश्रममै पुगेर स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरूको  उपचार गरेका छन् । त्रिशूली अस्पतालले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको हो ।

विदुर नगरपालिका ५ देवी घाटमा रहेको देवी घाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका सम्पूर्ण  ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । उहाँका अनुसार आफू बसेकै आश्रममा स्वास्थ्य सेवा पाउँदा वृद्धवृद्धाहरु निकै खुसी भएका छन् ।

त्रिशूली अस्पतालले शनिवार देवी घाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बसोबास गर्दै आएका ३२ जना ज्येष्ठ नागरिक  (आमाबुबा)हरुको स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिहरुको स्वास्थ्य परीक्षण कार्यमा त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामा, मनोरोग विशेषज्ञ डा. सन्देशराज उपाध्याय, डा.  कैलाश विश्वकर्मासहित अस्पतालको विभिन्न विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीसहित १५ जनाको टोली संलग्न रहेको थियो ।

त्रिशूली अस्पतालले देवी घाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन  प्रतिष्ठानमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरूको नियमित रूपमा शिविरमार्फत स्वास्थ्य जाँच तथा परीक्षण गर्दै जाने योजना रहेको छ । उक्त कार्यलाई आगामी दिनमा पनि नियमित रूपमा सञ्चालन गर्ने त्रिशूली अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.