भोजनलिपि स्वादको चौथो संस्करण असार १५ गते

काठमाडौँ- नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको चौथो संस्करण यही असार १५ गते हुने भएको छ । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करणबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ । नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजको संयुक्त आयोजनामा चौथो संस्करण गर्न लागिएको हो ।
चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो चरणसम्म आइपुग्दा किसान, रेष्टुराँ व्यवसायी र उपभोक्ताबाट पाएको सद्भावले उत्साह थपिएको बताउनुभयो । यो साथ सहयोग देशका विभिन्न जिल्ला र अन्तर्राष्ट्रियस्तरसम्म पनि कायमै रहने संयोजक सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।
आयोजक सिलौटो कटेजका सञ्चालक मोहन भण्डारीले किसानका उत्पादनलाई विशेष स्वादमा उपभोक्तालाई पस्कन पाउने अभियानमा जोडिन पाउनु व्यवसायीका लागि सुखद रहेको बताउनुभयो । सेफ घनश्याम कँडेलले नेपालीपन नहराउने गरी नेपाली स्वादलाई विश्वस्तरमा लैजाने उद्देश्यले अभियानमा लागेको बताउनुभयो ।
वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली हस्पिटालिटी क्षेत्र तथा सेफहरुले देशभित्र र बाहिर पाउन थालेको चर्चाले सन्तुष्टि मिलेको बताउनुभयो । यस क्षेत्रमा सुधारका काम भइरहे पनि सेफहरुको वृत्तिविकासमा अझै विश्वसनीय काम भइनसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा सङ्गीत उद्यमी मिलन मोक्तान, व्यवसायी राजेन्द्र केसी, सेफ विक्रम भिक्स, इङ्वा सुब्बालगायतले हस्पिटालिटी क्षेत्रका अवसर र चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो ।
अभियानअन्तर्गत यसअघिका कार्यक्रममा विभिन्न ३५ जिल्लाका कृषि उपज प्रस्तुत गरिएका थिए । अभियानमा सहभागी अन्तर्राष्ट्रिय सेफ कँडेलले हालै ‘टिमुर’ नामक पाककलासम्बन्धी पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।
अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा ‘भोजनलिपि’ कुकबुक पनि प्रकाशनको तयारीमा छ । उहाँले नेपाल तथा विदेशमा ४० भन्दा बढी रेस्टुराँहरूमा सयौँ सेफहरूलाई तालिम दिइसक्नुभएको छ ।
भोजनलिपि स्वाद कार्यक्रममा नेपाली पाककला क्षेत्रका अग्रणी सेफ गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे, हरि आले मगरलगायत नयाँ पुस्ताका सेफ पूर्ण श्रेष्ठ, इङ्वा सुब्बा आदिको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्