कोसी पहाडमा पहिलो पटक सार्वजनिक यातायातमा टाइम कार्ड सुरु

धनकुटा-  तीव्र गतिका कारण बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न धनकुटामा सार्वजनिक सवारीसाधन टाइम कार्ड प्रणाली सुरु गरिएको छ। कोसी पहाडमै पहिलो पटक सार्वजनिक यातायातमा टाइम कार्ड सुरु गरिएको हो। पछिल्लो समय सवारी  साधन बढेसँगै दुर्घटना बढेको भन्दै प्रहरीले टाइम कार्ड लागु गरेको हो। धनकुटा नगरपालिकाको सहकार्यमा जिल्ला  प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी  कार्यालय धनकुटाको समन्वयमा टाइम कार्ड सुरु गरिएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

यस्तै सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले एक कार्यक्रमकाबिच टाइम कार्डको सुरूवात गर्नुभएको छ। टाइम कार्डले सवारी दुर्घटनाको न्यूनीकरणसँगै सडक अनुशासन कायम हुने हुँदा यो अभियान प्रभावकारी हुने राईले बताउनुभयो। धनकुटाको भेडे टार, मुलघाट, धनकुटा बजार, हिले बजार, सिधुवा बजार, पाख्री वास बजार तथा लेगुवा बजार लगायतका स्थानमा टाइम कार्ड लागु गरिएको प्रमुख जिल्ला  अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समय विशेष गरी विद्युतीय माइक्रो बसहरूमा देखिएको दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड प्रणाली प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनु भयो। उहाँले यो कार्यक्रम केवल सुरु मात्र नभई निरन्तर अनुगमन र मूल्याङ्कनसहित कार्यान्वयन गरिने बताउनु भयो।

लागु गरिएको टाइम कार्ड अनुसार भेडे टार–मुलघाट(१७ किमी)लाई ४० मिनेट, मुलघाट–धनकुटा (१८ किमी)लाई ४० मिनेट, धनकुटा–हिले (१३ किमी)लाई ३० मिनेट, हिले–लेगुवा (२६ किमी)लाई ५५ मिनेट र हिले–सिधुवा (१२ किमी)लाई २५ मिनेटको समय लागु गरिएको छ। कोसी प्रदेशको पहाडी भेगमा पहिलो पटक टाइम कार्ड प्रणाली धनकुटामा लागु गरिएको हो। गत जेठ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले टायम कार्ड लगाउनु निर्णय गरेको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.