१० महिनामा गण्डकीमा ५ सय २५ जनाले गरे आत्महत्या

पर्वत- चालु आर्थिक वर्षको १० महिनामा गण्डकी प्रदेशभर ५ सय २५ जनाले आत्महत्या गरेका छन् । चालु वर्षको वैशाख सम्म गण्डकी प्रदेशका ११ जिल्लामा १ सय ९९ महिला र ३३६ पुरुष गरी ५सय २५ जनाले आत्महत्या गरेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार सबै भन्दा धेरै कास्की जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढी रहेको छ । कास्कीमा गत १० महिनामा १ सय ३० जनाले आत्महत्या गरेका छन् भने नवलपरासी पूर्वमा १ सय ४, तनहुँमा ६६, गोरखामा ६०, स्याङ्जामा ५१, बागलुङमा ४५, पर्वतमा २५, लमजुङ २२, म्याग्दी १८ र मुस्ताङ र मनाङमा २,२ जनाले आत्महत्या गरेका छन् ।
जसमध्ये सबै भन्दा धेरै झुन्डिएर ४ सय ६४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर ३२, हाम फालेर १४, पानीमा हाम फालेर ९ र ३ जनाले हातहतियार प्रयोग गरी आत्महत्या गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
यसरी आत्महत्या गर्नेहरूको कारण पत्ता लगाउने कुनै प्रविधि नभए पनि प्रहरीले स्थलगत घटनाक्रमलाई नियाल्दा गत १० महिनामा २ सय ८६ जनाले आवेशमा आएर आत्महत्या गरी ज्यान गुमाएको पाइएको छ । त्यस्तै १ सय ८ जनाले पारिवारिक झैझगडाका कारण आत्महत्या गरेको पाइएको छ भने ५२ जनाले प्रेममा धोका पाएर आत्महत्या गरेको तथ्याङ्क छ । गत १० महिनामा गरिबीका कारण पनि ६ जनाले आत्महत्या गरेर ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
आत्महत्या न्यूनीकरणका लागि गण्डकी प्रदेश प्रहरीले मातहतका प्रहरी निकायहरूमार्फत विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । उहाँले समुदाय सँग सँगसँगै मिलेर आत्महत्या बढी भएका स्थानहरूमा न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन भइरहेको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्