पेस्तोल सहित एक पक्राउ

मकवानपुर –  मकवानपुर प्रहरीले इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई इटालियन पेस्तोल र गोलीसहित पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार स्याङ्तानेलाई उहाँकै घरबाट गत जेठ ३१ गते लागुऔषध तथा हातहतियार लुकाई छिपाई  राखेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा सुत्ने कोठामा सिरानी मुनी कपडामा बेरेर राखेको अवस्थामा ७।६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्यागेजिनसहितको पेस्तोल एक थान, खाली म्यागेजिन थप एक थान, १३ राउन्ड गोली बरामद गरेको हो ।

प्रहरीले स्याङ्तानको गोठको दोस्रो तल्लामा मकैको खोस्टा भित्र कपडामा बेरेर प्लास्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, ८ एमएम १२ राउन्ड गोली र लागु औषध अफिम एक किलो ३१० ग्राम र २२ किलो ८०० ग्राम गाँजा बरामद गरेको हो । त्यस्तै राक्सिराङ–१ ढुंगेनबाटै स्याङ्तानको घरभन्दा पाँच सय मिटर नजिकै आँपको रुखको फेदमा प्लास्टिकमा बेरेको सेतो बोराको झोलामा घरेलु कटुवा पेस्तोल एक थान, पाँच राउन्ड गोली र दुई पोकामा एक किलो ४८० ग्राम अफिम पनि बरामद गरेको छ ।

२०७१ सालमा लागु औषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद, २०७६ साल साउनमा पनि लागु औषध गाँजा तथा हातहतियार मुद्दामा पक्राउ परी पाँच वर्ष ६ महिना कैद सजाय भुक्तान गरी २०८१ माघमा छुटेका स्याङ्तानको गतिविधि अझै पनि नसुध्रिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

लागु औषध र हतियारसहित पक्राउ परेका स्याङ्तानेलाई जिल्ला अदालत मकवानपुरबाट लागु औषध तथा हातहतियार खरखजाना समेतको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.