मुसिकोटमा गाउँमै सहकारीमार्फत दुग्ध सङ्कलन गरेर बजारी गर्दै महिलाहरू

गुल्मी- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराइका कृषकहरू अब व्यावसायिक दुग्ध व्यवसायमा सक्रिय रूपमा लाग्न थालेका छन्। स्थानीय कृषकहरूले समूह गठन गरी दुग्ध डेरी सञ्चालनमा ल्याएपछि गाउँमा दुग्ध उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ।
पहिलेदेखि नै गाउँमा पशुपालन परम्परागत रूपमा हुँदै आएको थियो। अधिकांश कृषकहरूले दूध उत्पादनलाई केवल पारिवारिक उपभोग र घर खर्चको रूपमा सीमित गरेका थिए।
तर अहिले स्थानीय कृषकहरू व्यावसायिक सोचका साथ डेरी सञ्चालनमा जुट्न थालेका छन्। पारिश्रमिक कृषि सहकारी संस्था गठन गरेर गाउँको दूध सङ्कलन गरी बिक्री गर्न थालिएको छ।
सहकारीमा ३० भन्दा बढी समुदायका सदस्य आबद्ध भई सहकार्यमा काम अगाडि बढाइएको छ। उनीहरूले दूध मात्र होइन, भविष्यमा दुग्धजन्य परिकार उत्पादन र बजार विस्तार गर्ने दीर्घकालीन योजना समेत अघि सारेका छन्।
कृषकहरूलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रविधिमा आधारित तालिम, प्राविधिक सहयोग, पशुको स्वास्थ्य परीक्षण तथा उन्नत जातका भैँसीको प्रवर्द्धनमार्फत सहजीकरण गरिरहेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार भकारो सुधार ३० वटा, डुड निर्माण ३० वटा, पिसाब सङ्कलन ट्याङ्की २० वटा, च्याप कटर ४ थान, चिलिङ भ्याट १ सेट, स्टेनलेस स्टिलका बाल्टी ३० वटा, मिल्क एनेलाइजर सेट १, मिल्क क्यान २ वटा, रोगो १ वटा, कस्बाइल मिल ६ वटा, दुग्ध सङ्कलन केन्द्र १ वटा र डाले घाँस बिरुवासमेत वितरण गरिएको छ।
दुग्ध सङ्कलन केन्द्रको भवनको उद्घाटन मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेल जीवनले गर्नुभएको थियो। उहाँले दुग्ध व्यवसायमा सम्भावना देखिएकाले वडा नम्बर–१ पौदीअमराईलाई छनोट गरिएको बताउनुभयो।
उत्पादनमा आधारित अनुदान कार्यक्रमहरू स्थानीय तहले प्राथमिकताका साथ अगाडि बढाएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “जबसम्म उत्पादन हुँदैन, तबसम्म समृद्धिको सपना साकार हुँदैन। नगरपालिकाले वास्तविक कृषकहरूको साथ दिइरहेको छ।”
डेरी सञ्चालनसँगै उत्पादन धेरै वा थोरै जे भए पनि किसानलाई दूध बेच्न सहज भएको र यसले राहत प्रदान गरेको नगर प्रमुख खरेलले बताउनुभयो। अहिले टोल–टोलमा दुग्ध सङ्कलन गरी केन्द्रमा ल्याउने काम भइरहेको छ।
पारिश्रमिक सहकारी संस्थाका अध्यक्ष प्रतिमा केसीका अनुसार समूहगत रूपमा सञ्चालन गरिएको डेरीमार्फत गाउँमै दूध सङ्कलन, शीत भण्डारण, प्रशोधन र बजार आपूर्तिको व्यवस्था मिलाइएको छ। यसले कृषकहरूलाई आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्ने अवसर मात्र दिएको छैन, गाउँमै रोजगारी र आम्दानीको विकल्प समेत खुलाएको स्थानीय राधिका गिरीले बताउनुभयो ।
स्थानीय स्तरमै व्यावसायिक डेरी सञ्चालन भएको खबरले अन्य क्षेत्रका कृषकहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।पहिले थोरै दूध उत्पादन गर्ने कृषकहरू बिक्री गर्ने ठाउँ नभएकै कारण समस्यामा परेका थिए भने अहिले सबै दिदीबहिनी मिलेर दूध बेच्न पाउँदा अत्यन्तै खुसी लागेको स्थानीय रुपा थापाले ले बताउनुभयो।
उहाँले भन्नुभयो, “घरमा प्रयोग गरेर बाँकी रहको दूध बिक्रीका लागि ल्याउँछु।”डेरी सञ्चालनको सुरु आती चरणमै उत्साहजनक प्रतिफल देखिएकाले कृषकहरू थप लगानी र विस्तारको तयारीमा रहेको सहकारीका अध्यक्ष केसीले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले ३० लाख र पारिश्रमिक सहकारीले १० लाख गरी ४० लाखको लगानीमा दुग्ध सङ्कलन केन्द्र र विभिन्न प्रविधिहरूको सहयोग गरिएको हो।
यो कार्यक्रम चालु आर्थिक वर्षको सबैभन्दा ठुलो कार्यक्रम रहेको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो।
पछिल्लो समय जिल्लाको पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा व्यावसायिक दूध उत्पादन कम हुँदै गएकाले ग्रामीण क्षेत्रमा आम्दानी र रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको पाण्डेले बताउनुभयो।
पौदीअमराईमा सुरुको दिन ५५ लिटर भैँसीको दूध सङ्कलन भएको थियो। अब यसलाई बढाएर १०० लिटरभन्दा बढी पुर्याउने लक्ष्य लिइएको छ।
मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगाकुमारी श्रेष्ठका अनुसार स्थानीय सरकार, विभिन्न सहकारी संस्था र गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै डेरीलाई दिगो, सबल र आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ।
पौदीअमराईमा उत्पादित दूध स्थानीय बजारसँगै वामीटक्सार, तम्घास लगायतका ठाउँमा पनि पठाउने तयारी गरिएको छ। उपप्रमुख श्रेष्ठले भन्नुभयो, “यसले कृषि र पशुपालनलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्नुका साथै युवाहरूलाई देशमै रोजगारी दिने सम्भावनालाई समेत बल पुर्याउने विश्वास लिएको छ।”
दुग्ध सङ्कलन केन्द्र सञ्चालनको शुभारम्भ अवसरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्