कोशीमा हात्तीको आक्रमण बढ्दो, बिद्युतीय धरापमा परेर २ हात्ती मरे

सुनसरी- कोशी प्रदेश अन्तर्गत सुनसरी र झापाका गरी दुई वटा जंगली हात्ती मृत अवस्थामा फेला परेका छन् । हात्तीकै आक्रमणबाट १ जना घाइते भएका छन ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा करिब पाँच वर्षे जंगली भाले हात्तीको मृत फेला परेको हो ।

स्थानीय मकैबारीतर्फ जाँदै गर्दा हात्ती मरेको देखेपछि उनीहरुले वन डिभिजन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतमले करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान भएको बताउनुभयो । यद्यपि, पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पुष्टि हुनेछ । घटनाबारे थप अनुसन्धानका लागि विशेषज्ञ टोली परिचालन गरिएको छ ।

यस्तै, झापाको मेचिनगर नगरपालिका–१ मा समेत करिब ४० वर्षको एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । खेतबारी जोगाउन लगाइएको अवैध विद्युतीय करेन्टले हात्तीको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ ।

उक्त हात्ती केही दिनदेखि सो क्षेत्रमा घुमिरहेकै अवस्थामा मृत भेटिएको हो । मृत हात्तीको पोस्टमार्टम पश्चात् थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।

यसैबीच, सोमबार बिहान मकैबारी हेर्न गएका मेचिनगर–१ का ५० वर्षीय पूर्णबहादुर श्रेष्ठलाई हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् । घटनामा श्रेष्ठसँगै रहेका अन्य दुईजना भने ज्यान जोगाएर भाग्न सफल भएका थिए ।

मानव–वन्यजन्तु द्वन्द्व लामो समयदेखि चल्दै आएको बराह क्षेत्रमा यो घटनाले थप चुनौती थपेको छ ।

हात्तीले खेतीबालीमा क्षति पुर्‍याउने र कहिलेकाहीँ मानवीय क्षति हुने घटनाहरू दोहोरिरहँदा वन्यजन्तु संरक्षणमा गम्भीर समस्या उत्पन्न हुँदै गएको छ ।

मेचिनगर क्षेत्र भारतबाट पूर्वी नेपाल प्रवेश गर्ने जंगली हात्तीहरूको प्रमुख जैविक मार्गका रूपमा चिनिन्छ ।

मेचिनगर–२ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हाल सो क्षेत्रमा करिब २२ वटा हात्तीको समुह रहेको छ ।

लामो समयदेखि हात्ती र स्थानीय बासिन्दाबीचको द्वन्द्व कम गर्न पहल गरिँदै आए पनि हात्तीहरूको व्यवहार पूर्ण रूपमा बुझ्न नसकिएकाले समस्या झनै बढिरहेको उनले बताए ।

सरकारी निकायले खेतबालीमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराए पनि हात्ती तर्साउने क्रममा सर्वसाधारणले ज्यान गुमाउने घटनाहरू दोहोरिँदै गएको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.