संसद् बैठक आधा घण्टाका लागि स्थगित

सदन अवरोध खुलाउने पहलका लागि सचेतकहरु सँगको ‍छलफलमा सभामुख

काठमाडौँ–  प्रतिनिधिसभाको आजको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधपछि आधा घण्टाका लागि स्थगन भएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गर्नुभएको थियो । ‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै ती दलले निष्पक्ष अनुसन्धान नभएसम्म सदनको अवरोध जारी रहने बताउँदै आएका छन् ।

प्रतिपक्षी सांसदले विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा भण्डारी कार्कीलाई आफ्ना विषय राख्न समय दिनुभयो । उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी रोक्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन होस्”, उहाँले सदनको अवरोध अन्त्य गर्ने सूत्र सुनाउँदै भन्नुभयो ।

त्यसलगत्तै सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिनुभयो तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ‘वेल’ घेराउ गर्न पुग्नुभयो । सदनमा मर्यादित पोशाकमा सांसद आउनुपर्ने नियमावलीमा लेखिएको भए पनि केही सांसदले लगाएको ‘स्काफ’प्रति आपत्ति जनाउनुभयो । “सदनमा अमान्य हुने पोशाक लगाएर पनि आउन थालियो भने त्यसले संसद्को मर्यादा र गरिमा जोगाउँदैन, यस्तो व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्नेसम्मको कारबाही गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

रास्वपाको विरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने गरी स्थगन भएको घोषणा गर्नुभयो ।

यसैबीच चौथो ठूलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ ।छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्छ ।

सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा यसअघि गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.