कालीगण्डकी करिडोरको पर्वत खण्डमा समयमा पुल निर्माण नहुदा समस्या

पर्वत- उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलामा समयमा मोटरेवलपुल निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । झण्डै ८ बर्षअघि पुल निर्माण कार्य शुरु भएपनि हाल सम्म सम्पन्न हुन सकेको छैन ।
२०७४ मा पुल निर्माण गर्ने जिम्मा पाएको नयाँ बाटो गौचन जेभीले पुल निर्माण कार्य गरिरहेको छ । २५ मिटरको यस पुलको लागत पाँच करोड ६४ लाख रुपैयाँ रहेको छ । पर्वतको फलेवास नगरपालिका ६ देवीस्थान र १० कुर्घामा पर्ने उक्त पुल निर्माणको पहिलो चरणमा ढुंगामाथि निर्माण थालिएको भन्दै काम रद्ध भएपछि पुन दोश्रो पटक २०७९ सालमा निर्माण शुरु गरिएको थियो । उक्त समयमा पनि पुल निर्माणको झण्डै ७० प्रतिशत काम सकिनै लाग्दा खोलाले बगाएपछि पुनः २०८० मा पुल निर्माण थालिएको थियो । पुलको अहिले मुख्य काम ढलान सकिएपनि पहुँच मार्ग विस्तारमा ढिलाई भएको छ ।
निर्माण कम्पनी नयाँबाटो गौचन जेवीका प्रतिनिधि दिनेश थापाले दिएको जानकारी अनुसार कालीगण्डकी करिडोर आयोजना कार्यालयबाट समयमा म्याद थप नहुँदा र कामको रकम भुक्तानी नहुँदा समस्या भएको बताउनुभयो । उहाँले समस्याका बाबजुद पनि काम भइरहेको र असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने दाबी गर्नुभयो ।
आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले निर्माण व्यवसायीलाई सहज रुपमा भुक्तानी दिन नसकेको स्वीकार गर्दै सरकारले समयमा भुक्तानी दिने व्यवस्था गरेमा काम अघि बढाउन सहज हुने जिकिर गर्नुभयो ।
अहिले कालीगण्डकी करिडोरको गुल्मी, बागलुङ खण्ड पहिरोले अबरुद्ध छ । यो समयमा उक्त सडकको विकल्पका रुपमा रहेको पर्वत खण्ड हुदै गन्तव्य तर्फ सवारी साधनहरु जान सकिने भएपनि सोही पुल निर्माण सम्पन्न नहुँदा समस्यामा परेका छन् । सोमबार बुटवलदेखि कालीगण्डकी करिडोरको गुल्मी खण्ड हुँदै बाग्लुङ जादै गर्नुभएका गोरखाका व्यवसायी सुरेश श्रेष्ठले पहिरोका कारण आफुहरु आपतमा परेको गुनासो गर्नुभयो ।
पर्वत खण्ड हुदै जाने क्रममा उक्त पुल निर्माण सम्पन्न नभएको र फलेवास नगरपालिका १० कुर्घा स्थित शाखा सडक कालोपत्र गर्ने कामले बन्द भएकाले झण्डै १२ घण्टा सडकमा नै अलपत्र परेको गुनासो उहाँले गर्नुभयो ।
कालीगण्डकी करिडोर नवलपरासीको गैंडाकोटबाट शुरू हुन्छ । अन्तिम टुंगो मुस्ताङको कोरलानाका हो । यसलाई चीनको प्रवेशविन्दु मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.