सांस्कृतिक र पुरातात्त्विक सम्पदाको संरक्षणमा सामाजिक विकास

मनाङ- धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय क्षेत्र मानव जीवनको महत्त्वपूर्ण पाटो मानिन्छ ।
मानव सभ्यतासँग जोडिएका यी सम्पदा संरक्षणमा सामाजिक विकास कार्यालय मनाङ जुटेको छ । यहाँका धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय क्षेत्रको संरक्षणले मानव सभ्यतालाई जीवन्त बनाउँछ ।
सामाजिक विकास कार्यालयको चालु आर्थिक वर्ष २०८१÷८२ को धार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदाको संरक्षणका लागि विनियोजित बजेटबाट निर्माण गरिएका आयोजना कार्यान्वयनको अन्तिम अवस्थामा पुगेको छ ।
कार्यालयले रु.छ लाख लागतमा नासो गाउँपालिका–१ ताल गुम्बा मर्मत सम्भार अन्तिम चरणमा पुगेको सामाजिक विकास कार्यालयका प्रमुख नारायणप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
चामे गाउँपालिका–२ थान चोकस्थित थान चोक गैह्री गाउँमा मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त मन्दिर रु.१० लाखको लागतमा निर्माणाधीन रहेको र अन्तिम चरणमा पुगेको छ । हालसम्म सडक नै नपुगेको क्षेत्र नार्पाभूमि गाउँपालिका–४ र ५ मा अवस्थित टासी लाखाङ गुम्बा मर्मत गरिएको छ । रु.१० लाखमा निर्माण गरिएको उक्त आयोजनाअन्तर्गत गुम्बामा लामा गुरुको आवास गृह मर्मत गरिएको उहाँले बताउनुभयो । नासो गाउँपालिका–८ ताचैको थोङग्री प्लि छहरामा महादेव मन्दिर गरिएको छ । रु.पाँच लाखको लागतमा निर्माणाधीन मन्दिर अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक वर्षमा नै उक्त आयोजना सम्पन्न हुने कार्यालयले जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्की मनाङस्थित पोचो गुम्बाको रङ रोगन, मर्मत सम्भार, संरक्षणको लागि टेवा पर्खालसहितको काम अन्तिम चरणमा पुगेको प्रमुख बास्तोलाले जानकारी दिनुभयो ।
कार्यालयले रु.२० लाखको लागतमा गुम्बाको काम तिब्र गतिमा भइरहेको जनाएको छ । यसका साथै सामाजिक विकास कार्यालयले जिल्लाका विभिन्न विद्यालयको मर्मत सम्भार, सामुदायिक भवन निर्माण, खेलमैदान निर्माण तथा स्तरोन्नती सम्बन्धि आयोजना सम्पन्न गरिसकेको छ । कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कार्य पुरा भएको जनाएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र पर्यटकीय क्षेत्रको संरक्षण मात्र नभई प्रवर्द्धनमा पनि टेवा पु¥याएको छ । यसका साथै जिल्लाका शैक्षिक, सामाजिक क्षेत्रलाई समेटिने गरी योजनाबद्ध तवरबाट काम गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन, महिलाको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास, ज्येष्ठ नागरिकसँगको संस्कृति पुस्ता हस्तान्तरण, लोपोन्मुख संस्कृति संरक्षणमा योगदान दिइरहेको स्थानीय उषा ठकुरीले बताउनुभयो ।
शैक्षिक क्षेत्रअन्तर्गत बालमैत्री सुशासन कायम गर्दै बालबालिकाको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग पु¥याउदै आएको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाको वतृत्वकला विकास, क्षमता अभिवृद्धिका साथै पठनपाठनमा समेत कार्यालयले योगदान पु¥याएको छ ।” जिल्लाका चार वटै पालिकालाई बालमैत्री बनाउँदै लोकतान्त्रिक अभ्यासमार्फत जिल्ला बाल क्लबको गठन गरिएको छ ।
बालबालिकामा यसले पनि नेतृत्व क्षमतामा सहयोग पुगेको विद्यार्थी जयराम थापाले बताउनुभयो । बालबालिका, युवा, ज्येष्ठ नागरिकलाई सचेत गराउने उद्देश्यले जनचेतनामूलक कानुनी सेवाको सहजताका लागि कार्यक्रम गर्दै आएको छ । भग्नावशेष हुने अवस्थामा पुगेका यहाँ पुराना सम्पदाको संरक्षणमा जुट्न आवश्यक छ । यहाँका संरचनाको प्रवर्द्धन गरी आयसँग जोडन सक्नुपर्ने अवस्था छ । तर, तीन तहको सरकारको समन्वयको अभाव रहेको छ । यस्ता हाम्रा सम्पदाको संरक्षणसँगै प्रवर्द्धन गर्दै पर्यटन र अर्थसँग जोडन सकेमा मनाङलाई मात्र नभई देशको आय स्तरमा सहयोग पुग्नेछ ।






प्रतिक्रिया राख्नुहोस्