नेपाल-बङ्गलादेश पर्यटन सहकार्य : बङ्गालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाडौँ –  नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बङ्गलादेशको चट्ट ग्राममा  ‘नेपाल- बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ । ‘गन्तव्य नेपाल : बङ्गालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबिचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल- बङ्गलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गर्नुभयो । उहाँले दुई देशबिचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औँल्याउँदै भन्नुभयो, “हिमालयको शिखरसँग बङ्गालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ।”

साथै, उहाँले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेको कार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रिय भूमिकाको समेत उच्च मूल्याङ्कन गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक रोहिणी प्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूको बारेमा प्रस्तुति दिनुभयो । उहाँले बङ्गलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रूपमा चिनाउँदै, नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गर्नुभयो । साथै, उहाँले दुवै देशका ट्राभल एजेन्टहरूबिच आपसी सहकार्यलाई थप मजबुत बनाउने आह्वान गर्नुभयो ।

कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गर्नुभयो । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उहाँले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी गराउनुभयो ।

बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू — एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टीओएबी) चट्ट ग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास,
व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गर्नुभयो ।

कार्यक्रममा राफल ड्रमार्फत बङ्गलादेशका सहभागीहरूलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौँ आवागमन हवाई टिकटसमेत प्रदान गरिएको छ । उक्त पुरस्कारहरू नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र बङ्गलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ ।

यसैबिच नेपाल र बङ्गलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूबिच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू सम्पन्न भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.