बाढी पहिरो गएको ९ महिना पछि सिन्धुलीमा अस्थायी आवास बनाउन सवा करोड बजेट

सिन्धुली-  गत असोजमा आएको बाढीले क्षति गरेका घर परिवारलाई अस्थायी अवास निर्माण गर्नका लागि गर्नका लागि सिन्धुलीका बाढी प्रभावितलाई सरकारले रकम निकासा गरिदिएको छ । बाढी पहिरो गएको झन्डै ९ महिना पछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी आवास निर्माणका लागि रकम निकासा गरिदिएको हो ।

२०८१ साल असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परि पूर्ण रूपमा क्षति भएका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको छ, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले भन्नुभयो, सङ्कटग्रस्त घोषणा भएका पालिकाबाट अस्थायी आवास निर्माणको माग रकम र लाभग्राहीको विवरणका आधारमा रकम निकासा भएको हो ।

सिन्धुलीका चार पालिका सङ्कटग्रस्त घोषणा भएका छन् । जसमध्ये सिन्धुलीको सुनकोसी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको थियो । सुनकोसी गाउँपालिकामा  ३ सय ६७ परिवार बाढीले विस्थापित भएको भन्दै अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बापत जनही २५ हजारका दरले ९१ लाख ७५ हजार रुपैयाँ निकासा भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

यस्तै गोलञ्जोर गाउँपालिकामा ८३ जना लाभग्राहीको २० लाख ७५ हजार, फिक्कल गाउँपालिकामा ९ जनाको २ लाख २५ हजार र हरिहरपुरगढी गाउँपालिकामा १ लाख ७५ हजार निकासा भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

चार ओटा सङ्कटग्रस्त घोषणा गरिएको पालिकाका ४ सय ६६ लाभग्राहीलाई १ करोड १६ लाख पचास हजार रुपैयाँ रकम निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस वर्ष हुनसक्ने मनसुनजन्य विपद्लाई लक्षित गरी जिल्लाका सबै स्थानीय तहलाई पूर्ण रूपमा पूर्व तयारीमा लाग्न आग्रह गरेको छ ।

खोलानाला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन समेत प्रजिअ शर्माले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.