सहजपुर – बोगटान- दिपायल सडक हस्तान्तरण नहुँदा सफाइ हुन सकेन : दुर्घटनाको जोखिम बढ्दै

डोटी – कैलालीको सहजपुर देखि डोटीको बडिकेदार गाउँपालिकाको गाडेबाज सम्मको करिब ५० किलोमिटर सडक कालो पत्र को काम सम्पन्न भएको करिब १ वर्ष हुँदा समेत सडक हस्तान्तरण हुन सकेको छैन । सडक हस्तान्तरण नहुँदा गत वर्ष बर्खा याममा सडकमा खसेको पहिरो अहिलेसम्म पनि हटाउन पहल भएको छैन ।
पहिरो सरसफाइ हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ तर न तिनै तहका सरकारले स्वामित्व लिएका छन् न सडक हस्तान्तरण हुन सकेको छ । यस्तै अवस्था रहे यो बर्खा याममा सडक धेरै ठाउँमा भत्किने जोखिम बढे पछि स्थानीय चिन्तित बनेका छन् ।
सहजपुर बिपिनगर दिपायल बोगटान सडकको ५० किलोमिटर कालो पत्र गरिएको छ । एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ।
करिब ५० किलोमिटर लामो सडक खण्डमा गत वर्षको बर्खामा ठाउँ ठाउँमा पहिरो गएको छ , सडकको नाली पूर्ण रूपमा बन्द छ ।
पहिरो र नाली सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ भने सडक कतिपय ठाउँमा भासिएको छ सडकका वाल समेत भत्किएका छन् जसले गर्दा सडक सरसफाइ मर्मत नहुने हो भने एकातिर दुर्घटनाको जोखिम बढाएको छ अर्को तर्फ सडक यो बर्खा याममै धेरै ठाउँमा भत्किने अवस्थामा पुग्ने बडिकेदार गाउँपालिकाका -५ का पूर्व वडा अध्यक्ष बुद्धि सागर बिनाडिले बताउनु भयो ।
वि.सं.२०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । सम्झौताको पाँच वर्ष पछि गत वर्ष कालो पत्रको काम सम्पन्न भएको थियो ।
यो सडक अहिले सम्म कुनै पनि सरकारी निकायमा हस्तान्तरण हुन सकेको छैन । एक वर्ष अगाडि आएको पहिरो समेत हटाउन नसक्दा सडकको अवस्था नाजुक बन्दै गएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पदम सिंह बोहराले बताउनु भयो ।
सडक मर्मतको लागि सघिय सरकार,प्रदेश सरकार संग पटक पटक बजेट माग गर्दा समेत कुनै पनि सुनुवाइ हुन नसकेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनु भयो । सडक को अवस्था एकदमै नाजुक हुन थालिसकेको छ । सडक हस्तान्तरण समेत हुन सकेको।छैन यसले गर्दा झन अन्यौलता छाएको अध्यक्ष साउदले बताउनु भयो ।
यता बडिकेदार देखि बोगटान सम्मको २४ किलोमिटर सडक कालोपत्रे ठेक्का प्रक्रिया अघि बढ्दै गर्दा योजना कार्यालय नै खारेजी भएको छ ।यसलाई सडक डिभिजन कार्यालय डोटी वा महेन्द्रनगरलाई हस्तान्तरण गर्ने तयारी भइरहेको र सडक कस्लाइ हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो नलागेको सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टराईले हाल सम्म कुनै निर्णय नभएको बताउनु भयो ।





प्रतिक्रिया राख्नुहोस्