राससको फोटो कूटनीति: पुस्तकदेखि प्रदर्शनीसम्म

काठमाडौँ – ‘रासस भनेको अखबार हो कि अनलाइन हो?’ यो प्रश्न राससका धेरै पत्रकारहरूले जिल्ला जिल्लामा भोगेको पहिचान तनाव हो । राज्यको एक मात्रै र देशको सबैभन्दा जेठो समाचार एजेन्सी भएको लिगेसी बोकेर पनि राससले यस्ता पहिचान सङ्कट भोगिरहेको राससका कार्यकारी अध्यक्ष धर्मेद्र झा समेत स्विकार्नु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘राज्यकै नीति निर्माणमा हुने धेरैलाई राससको बारेमा जानकारी रहेनछ ।’ नेपाली सञ्चार माध्यममा सबैभन्दा धेरै समाचार सामाग्री प्रयोग हुने समाचार एजेन्सी भएर पनि पहिचान सङ्कट भएको राससलाई देश विदेशमा पुर्याउन पछिल्लो समयमा राससले फोटो कूटनीति सुरु गरेको छ ।
राससले महाप्रबन्धक सिद्ध राज राईको संयोजकत्व १८५ पेजको ‘रासस फोटो किताब: गणतन्त्रको १६ वर्ष’ प्रकाशन गर्यो । देशमा गणतन्त्र आएपछि बनेका भौतिक पूर्वाधारको विकासदेखि देशका भूगोलभरि छरिएर रहेका संस्कार, सभ्यता र संस्कृति झल्काउने फोटोहरू पुस्तकमा अटाएका छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा फोटोका क्याप्सन राखिएका छन् । फोटो पुस्तकबारेमा प्रकाशन उपसमितिका सल्लाहकार झा भन्नुहुन्छ, ‘गणतन्त्रमा केही भएन भन्ने खालको भाष्य देखिएर धेरैमा निराशा देखियो । हामीले गणतन्त्रमा काम भएका छन् भन्ने देखाउन यो फोटो पुस्तक प्रकाशन गर्यौ ।’ झाले विदेशीहरूलाई नेपालमा आउँदा नेपालको भौतिक प्रगतिदेखि संस्कृति तथा सभ्यताको एकमुष्ट जानकारी दिने ग्रन्थ नभएकोले पनि यस्तो पुस्तक प्रकाशन गरेको बताउनु भयो । नेपाल टेलिभिजनसँग बोल्दै उहाँले भन्नु भयो, ‘राससका फोटो पत्रकारहरूले खिचेका नेपालको पहिचान दिने खालका कामलाई एक्सपोजर दिऊँ भन्ने पनि उद्देश्य हो ।’
रासस फोटो किताब राससमा भ्रमणमा आउने विदेशी प्रतिनिधिहरूलाई दिइने प्रचलन राखिएको किताबका संयोजक सिद्ध राज राई बताउनुहुन्छ । उहाँले फोटो किताबले नेपालका धेरै जानकारी समेट्ने भएकोले यो नेपाल बुझ्ने र रासस बुझाउने एक प्याकेज पुस्तक भएको बताउनु भयो । झाका अनुसार नेपालमा भएका सबै कूटनीतिक नियोगहरूमा रासस फोटो किताब पुगिसकेको छ भने विदेशमा भएका नेपाली नियोगहरूमा पनि लाने क्रम जारी छ । विदेश भ्रमणमा जाने रासस तथा उच्च सरकारी अधिकारीहरूले पनि पुस्तक लगेर नेपालको उपस्थिति जनाउने काम भइरहेको झाले बताउनु भयो ।
यस्तै गत जेठ ११ बाट राससले ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ शीर्षक फोटो प्रदर्शन गरिरहेको छ । नेपालमा आयोजना भएको सगरमाथा संवाद, अन्तर्राष्ट्रिय सगरमाथा दिवस, नेपालका राष्ट्रपतिले बाकुमा पुगेर उठाएको जलवायु मुद्दा तथा नेपालमा आएर संयुक्त राष्ट्र सङ्घका महासचिव एन्तोनियो गुतेरेस तथा कतारी राजकुमारीको नेपाल भ्रमण लगायतका समकालीन सवालहरूले फोटो प्रदर्शन गर्न प्रेरणा दिएको झा बताउनु हुन्छ । ‘रासस र नेपाली पर्वतीय पर्यटन दुवै चिनाउन यो प्रदर्शन गरिएको हो र धेरै नेपालका धेरै मन्त्री तथा नेताहरू आइसक्नु भएको छ’, झा भन्नुहुन्छ, ‘अहिलेसम्म भारत, पाकिस्तान, डेनमार्क, इजरायल र दक्षिण कोरियाका राजदूतहरू आइसक्नु भएको छ । सोमबार बङ्गलादेशको राजदूत आउनुहुन्छ ।’






प्रतिक्रिया राख्नुहोस्