नेपालमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

कास्की –  काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित महावाणिज्य दूतावासले ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालका दश सहर तथा नगरपालिकामा विविध कार्यक्रमहरू आयोजना गरेर भव्य रूपमा योग दिवस मनाएका छन्। “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको नारासहित आयोजित कार्यक्रमहरूमा हजारौँ योग प्रेमी, विद्यार्थी, सरकारी अधिकारी, नेपाली सेना, र स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बयरपुरसहित १० स्थानमा योग कार्यक्रमहरू आयोजित गरियो।

पशुपतिनाथ मन्दिरमा ७ अप्रिल २०२५ मा भएको कार्यक्रमले योग दिवस मनाउन ७५ दिनअघि नै पूर्व तयारीको शुभारम्भ गरेको थियो। त्यसपछि ५० दिन अगाडि काठमाडौँस्थित इसीएचएस पोलिक्लिनिकमा भारतीय भूतपूर्व सैनिकहरूसँग योग सत्र (२ मे) र २७ मेमा नेपाली सेनासँग नेपाली सेनाको मुख्यालय मैदानमा योग अभ्यास आयोजना गरियो।

काठमाडौँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरू — पशुपतिनाथ, काठमाडौँ दरबार स्क्वायर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण, र पाटन दरबार स्क्वायरमा योग प्रदर्शन गरिएको थियो। यी कार्यक्रममा नेपाली कलाकार, भारतीय समुदायका सदस्य, तथा स्थानीय प्रशासनका प्रतिनिधिहरूले पनि सहभागिता जनाउनुभयो।

१३ जुनमा केन्द्रीय विद्यालय काठमाडौँमा १५० भन्दा बढी विद्यार्थीहरूका लागि योग तथा सात्त्विक आहार सम्बन्धी शिक्षाप्रद सत्र आयोजना गरिएको थियो। त्यसै गरी १५ जुनमा इसिमाेड र भारतीय दूतावासको सहकार्यमा इसिमाेड मुख्यालयमा योग कार्यक्रम गरिएको थियो।

१९ जुनमा लमजुङको मध्य नेपाल नगरपालिकाको सहकार्यमा योग कार्यक्रम आयोजना गरियो। पोखराका सराङकोट, पुम्दिकोटको शिव मन्दिर, र आनन्द डाँडाको शान्ति स्तूप जस्ता प्रमुख स्थानहरूमा समेत योग सत्र सञ्चालन गरियो।

२० जुनमा फेवाताल किनारमा ५०० जना योग अभ्यासकर्तासहित ठुलो योग र ध्यान सत्र आयोजना गरियो, जसले योग र प्रकृतिबिचको सम्बन्धलाई झल्कायो।

त्यसै दिन, लुम्बिनी विकास कोषमा भएको योग कार्यक्रममा ५०० भन्दा बढी योग प्रेमी सहभागी भए। कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, तथा नेपालका लागि भारतीय राजदूत नवीन श्री वास्तवले योगले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्नुभयो।

२१ जुन २०२५ मा पोखराको रंगशालामा भएको मुख्य योग कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरका मेयर धनराज आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उक्त कार्यक्रममा ७,००० भन्दा बढी योगप्रेमीहरूको सहभागिता थियो।

मुख्यमन्त्री पाण्डेले भारत सरकार तथा दूतावासप्रति आभार प्रकट गर्दै योगले नेपाल–भारतको साझा सांस्कृतिक सेतुको रूपमा काम गरिरहेको बताए। राजदूत श्रीवास्तवले योग पर्यटन प्रवर्द्धनका लागि नेपालका प्रमुख गन्तव्यहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्न सकिने सम्भावना औँल्याउनु भयो।

साथै, वीरगन्जस्थित महावाणिज्यदूतावासले जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बयरपुरमा पनि योग दिवसका कार्यक्रमहरू आयोजना गर्‍यो।

यी कार्यक्रमहरूले योगप्रति जनचेतना अभिवृद्धि गर्न, शारीरिक–मानसिक स्वास्थ्यमा सुधार ल्याउन, र भारत–नेपालबिचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। भारतीय दूतावासले यस्ता सांस्कृतिक र जनसहभागिताका पहलहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.