स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै गाउँपालिका

गुल्मी –  गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रमहरूमा प्रदान गरिने मायाको चिनो स्वरूप सिरेमिक्सबाट निर्मित माटाका भाडा प्रयोग गर्ने भएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष भगतसिंह खड्काले यसबारे जानकारी गराउनु भएको हो।

उहाँका अनुसार पालिकामा उत्पादन हुँदै आएको माटोका भाडा तथा सिरेमिक्स सामग्रीलाई प्रवर्धन गर्न कार्यक्रमहरूमा प्लास्टिक वा अन्य आयातित सामग्रीको सट्टा स्थानीय भाँडाकुँडा प्रयोग गरिनेछ । यसअन्तर्गत इस्मा कोटको प्रतिमा तयार गरी मायाको चिनोको रूपमा वितरण गरिने योजना छ ।

पालिकाले यस कदमबाट स्थानीय साना उद्योगको प्रवर्धन हुने विश्वास लिएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै मौलिकता झल्किने सामग्रीलाई प्राथमिकता दिने नीति अपनाएको अध्यक्ष खड्काले बताउनुभयो ।

इस्माको बुल्ममा कुमाल समुदायले परम्परागत रूपमा माटाका भाडा उत्पादन गर्दै आएका छन् । अहिले आधुनिक प्रविधिको प्रयोग गरेर आधुनिक खालका विभिन्न कलात्मक माटाका भाडा उत्पादन हुँदै आएका छन् । तर प्लास्टिक जन्य सामाग्रीका कारणले कुमाल समुदायको पेसा नै सङ्कटमा पर्ने अवस्थामा पुगेको छ ।

यस्तै पालिकाले प्लास्टिकजन्य खादा तथा मालाको प्रयोगमा पूर्ण रूपमा रोक लगाउने निर्णय पनि गरेको छ । अब पालिकाको औपचारिक कार्यक्रमहरूमा प्राकृतिक र वातावरणमैत्री विकल्प प्रयोग गरिनेछ ।

त्यसै गरी  इस्मा गाउँपालिकाले फूल खेतीलाई प्रोत्साहन गर्न कृषकहरूलाई आवश्यक स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउने नीति ल्याएको छ ।

यसले फूलको माग स्थानीय स्तरमै पूरा हुनुका साथै कृषकको आम्दानी पनि बढाउने विश्वास गरिएको छ । इस्मा गाउँपालिकाको यो नीति वातावरणमैत्री, आत्मनिर्भर र स्थानीय उद्योगमुखी अभ्यासको उदाहरणको रूपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.