साततले दरबारको पुनर्निर्माण सुरु

डेढ वर्षमा पुनर्निर्माण गरिने 

नुवाकोट-  पुनर्निर्माणको पर्खाइमा रहेको नुवाकोटको प्रसिद्ध साततले दरबार राष्ट्रिय सङ्ग्रहालयको पुनर्निर्माण सुरु भएको छ । पुनर्निर्माणका लागि क्षतिग्रस्त संरचनाहरू हटाउन सुरु गरिएको छ ।

१० वर्ष अगाडिको ‘विनाशकारी भूकम्प’ले क्षतिग्रस्त बनाएपछि उक्त सङ्ग्रहालय बन्द गरिएको थियो । भूकम्प अघि विदेशी, विद्यार्थी तथा सर्वसाधारणले दैनिक रूपमा उक्त दरबार भित्रै पसेर अवलोकन गर्ने गर्नुभएको थियो ।

भुकम्पको एक दशक बित्तेपछि दरबार पुनर्निर्माणको लागी जीर्ण संरचना आइतवाट हटाउन सुरु गरिएको हो । दुर्ग रत्न नाम रहेको साततले दरबार राष्ट्रिय सङ्ग्रहालयको जीर्ण संरचना भत्काउन सुरु गरिएको हो ।

चिनियाँ कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको विदुर नगरपालिका २ स्थित नुवाकोट टाकुरोमा रहेको उक्त दरबारको पुनर्निर्माण अगाडिको पूर्व तयारीको प्राविधिक काम सम्पन्न भएकाले दरबारको जीर्ण संरचना भत्काउन सुरु गरिएको हो । यससँगै दरबारको पुनर्निर्माण सुनिश्चित भएको जनाउँदै नुवाकोटवासी निकै खुसी भएका छन् ।

साततले दरबारको क्षतिग्रस्त संरचना हटाउनु अगाडि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी,  जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी शशी धर घिमिरे, डिभिजन वन कार्यालयका प्रमुख रोशना पोखरेल, विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, अन्य वडाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरूसहित सरोकारवालाहरूलाई दरबारको क्षतिग्रस्त स्थानको जानकारी गराई साततले दरबारको छानाबाट भत्काउन सुरु गरिएको हो ।  भूकम्पले क्षति पुर्‍याउंदा उक्त दरबार निकै जीर्ण भई बन्द भएको छ ।

दरबार सन्चालन भएका वेला त्यहाँ रहेको सङ्ग्रहालय भ्रमण गर्न आउनेहरूबाट शुल्क राजश्वसमेत सङ्कलन हुँदै आएकोमा अहिले  ठप्प भएको छ । उक्त दरबार गत १८१६ सालमा पृथ्वीनारायण शाहको सेनाद्वारा निर्माण गरिएको जनाइएको छ ।

चिनियाँ कम्पनी मार्फत पुनर्निर्माण भइरहेको दरबारको पुनर्निर्माण अघिको पूर्व तयारीको प्राविधिक काम सम्पन्न भएकाले जीर्ण संरचना भत्काउन सुरु गरिएको मेयर राजन श्रेष्ठको भनाई छ । दरबारको छाना हटाएर क्षतिग्रस्त भाग भत्काउन सुरु गरिएको उहाँले बताउनुभयो ।

दरबार पुनर्निर्माणको क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र स्पष्ट  हुने जानकारी चिनियाँ पक्षले गराएको मेयर श्रेष्ठले जानकारी दिनुभयो । हाल प्राविधिक अध्ययन अनुसार दरबारको जगदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ ।

यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात् दरबारलाई पूरै भत्काइने अथवा क्षतिग्रस्त तलाहरू हटाएर सोही स्थानबाट निर्माण सुरु गरिने निर्णय लिइने मेयर श्रेष्ठको भनाई छ । भूकम्पपछिको पुनर्निर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चिनियाँ निर्माण कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत नुवाकोटको प्रसिद्ध साततले दरबार, तुलजा भवानीको मन्दिर सहित थप आठ वटा संरचनाको पुनर्निर्माणका कार्य भइरहेको छन् ।

पुनर्निर्माण अन्तर्गत भूकम्पले पूर्ण क्षति गरेको तलेजु  भवानीको मन्दिरको संरचना भने पूरै भत्काएर सकिएको छ । अब सोही स्थानमा पहिलाको जस्तै नयाँ निर्माण गर्न थालिएको छ ।

साततले दरबार र तुलजा भवानीको मन्दिरको निर्माण आगामी २०८३ साल असोज महिना भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी थप धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक संरचनाको निर्माण त्यसपछि अघि बढाइने समझदारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.