विपद् राहतमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी बागमती प्रदेश सरकारको परीक्षण

 मकवानपुर –  बागमती प्रदेश सरकारले अत्यावश्यक सामग्रीको ढुवानी तथा विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोग सम्बन्धी परीक्षण कार्यक्रम गरेकोे छ ।
आइडिया हब इन्टरनेशलन प्रालिसँगको सहकार्यमा बागमती प्रदेशको श्रम रोजागर तथा यातायात मन्त्रालयले ड्राने मार्फत् अत्यावश्यक सामग्रीको ढुवानी कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष अभ्यास गरेको हो । हेटौडा ६ स्थित गौरीटार रंगशालामा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा २५ केजि भार सहितको ड्रोन सफलतापूर्वक परिक्षण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले ड्रोन प्राविधिको प्रयोग बिपद् व्यवस्थापनमा अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सडक अवरुद्ध हुँदा, डुबान वा पहिरोका कारण राहत पुराउन नसक्ने स्थितिमा ड्रोन प्रविधि उपयोगी विकल्प हुन सक्ने उहाँको धारणा थियो । उहाँले देशको भौगोलिक विविधता, जोखिमयुक्त क्षेत्र तथा प्राकृतिक प्रकोपको समयमा ड्रोन प्रविधि प्रभावकारी हुने बताउनुभयो । यसको नियमनका लागि प्रदेश सरकारले आवश्यक कानून निर्माण गर्ने उहाँले बताउनुभयो । नेपालजस्तो जोखिमपूर्ण भूगोल भएको देशमा बाहिरी उत्पादनमा निर्भर रहनुभन्दा आफ्नै प्रविधि विकास गर्नुपर्नेमा मुख्यमन्त्री लामाकोे जोड थियो ।
कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले नेपाल प्रविधिसँगै अपडेट हुँदै गएको बताउनुभयो । हरेक क्षेत्रमा प्रविधिको आवश्यकता रहेकोमा जोड दिदै मन्त्री महर्जनले यातायात, विपद् व्यवस्थापन र सुशासनमा पनि प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।  विपद्को समयमा ड्रोनको प्रयोग बागमती प्रदेशमा मात्रै नभई नेपालकै लागि प्रभावकारी देखिने उहाँले बताउनुभयो । प्राकृतिक प्रकोपको मुख्य कारण डोजरे विकास पनि भएको तर्फ संकेत गर्दै मन्त्री महर्जनले प्रकृतिमैत्री विकासका लागि ड्रोन प्रविधि उपयुक्त हुने धारणा राख्नुभयो ।
 आइडिया हब इन्टरनेसनलका सुरज पौडेलले ड्रोनको प्रयोग केवल फोटो वा भिडियो खिच्नेका लागि मात्र नभई  अत्यावश्यक राहत सामग्री बोक्न, ड्रोन मार्फत् विषादी छर्न समेत प्रयोग गर्न सकिने बताउनुभयो । ड्रोन प्रविधि तीव्र रूपमा अपडेट हुँदै गइरहेको सन्दर्भमा पुराना नियम कानूनहरूलाई संशोधन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सडक नभएको, डुबान, पहिरो वा अन्य संकटका समयमा एउटा डाँडाबाट अर्को डाँडामा समेत राहत सामग्री पुराउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, नेकपा एमालेका सचेतक मधुसुदन पौडेल, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.