पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ- विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।”
न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो ।
आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गर्नुभएको थियो ।
नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गर्नुभएको थियो ।
पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.